Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्यालाई भेट्न नेताहरुको लर्को

विराटनगर । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिक पत्रिकाको वार्षिक उत्सवमा सहभागी हुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिराटनगर झरिन् । विराटनगर विमानस्थल अवतरण भएदेखि नै उनी राजनीतिक भेटघाटहरुमा व्यस्त छिन् ।

भण्डारीलाई एमालेले पार्टीमा फर्किन ढोका बन्द गरिसकेको छ, तर पार्टीपंतिमा उनीप्रति आकर्षण र क्रेज यथेष्ट रहेको बिराटनगर यात्रामा पनि देखिन्छ । उनलाई स्वागत गर्न कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई, एमाले कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी लगायत विमानस्थलमा पुगेका थिए । यसअघि उनी आउँदा स्वागतमा देखिने केही चर्चित अनुहार भने यसपाला गयल रहे । यसअघि पूर्वमुख्यमन्त्री एवं कोशीका इञ्चार्ज शेरधन राईदेखि, कोशीका मुख्मन्त्री हिक्मतकुमार कार्की साथै मन्त्रीहरू विमानस्थलमै पुग्ने गरेका थिए ।

मुख्यमन्त्री कार्कीले भण्डारीलाई उनी बसेको होटल बिगमा गएर भेटघाट गरे । कार्कीसँगै आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी, सामाजिक विकास मन्त्री पाँचकर्ण राई र खानेपानी मन्त्री एकराज कार्की पनि साँझ भण्डारीलाई भेट्न पुगेका थिए ।

मुख्यमन्त्री र मन्त्रीहरूसँग भण्डारीले प्रदेश सरकारमा राजनीतिक दलहरुको सहभागिताको अवस्थाको बारेमा जिज्ञासा राखेको एक मन्त्रीले बताए ।

प्रदेशमा संयुक्त सरकार भएकाले कुन पार्टीबाट को–को मन्त्री सहभागी छन् भनेर जिज्ञासा राख्नुभयो । मुख्यमन्त्रीज्यूले पनि सरकारको समग्र कामकारबाहीको अवस्थाबारे जानकारी गराउनुभयो, ती मन्त्रीले भने ।

एमालेका मात्र होइन, भण्डारीलाई भेट्न नेकपा एसका नेता–कार्यकर्ताको पनि होटल बिगमा लर्को लाग्यो । नेकपा एसका नेता महेश रेग्मी श्रीमतीसमेत लिएर भण्डारीलाई भेट्न गएका थिए । एमाले मोरङको अध्यक्ष भइसकेका रेग्मी नेकपा एसको प्रदेश अध्यक्षमा पराजित भएपछि पार्टीमा अलि सेलाएका छन् । भण्डारी २०४२ सालमा अनेमसंघ मोरङको संयोजक हुँदा महेशकी पत्नी सावित्रा सहसंयोजक थिइन् । पछि जिल्ला अध्यक्षमा भण्डारी निर्वाचित हुँदा उनी सचिव भइन् ।
रेग्मीले केही राजनीतिक र केही पारिवारिक कुराकानी भएको बताए ।

महामहिम भइसकेको व्यक्ति राजनीतिमा आउनुको कारण सोधेको उल्लेख गर्दै रेग्मीले भने, मैले यो प्रतिकूल अवस्थामा राजनीतिमा आउनुको कारण सोधेँ । उहाँले अवस्था प्रतिकूल भएकै कारण आफू एमालेको सक्रिय राजनीतिमा फर्कनु परेको बताउनुभयो ।

पूर्वराष्ट्रपति एमालेले अहिले निषेधको नीति लिइरहेको छ । एमाले संस्थापनले उनको कार्यक्रममा नजान, समर्थनमा नबोल्न पार्टी पंतिलाई निर्देशन दिँदै आएको छ । केही दिनअघिको कोशी प्रदेश कमिटीको बैठकमा प्रदेश इन्चार्ज शेरधन राईले भण्डारीको सदस्यता नवीकरणको च्याप्टर क्लोज भइसकेको बताएका थिए । आज विराटनगर महानगर कमिटीका इन्चार्ज पर्शुराम बस्नेतले एमालेले कुनै कार्यक्रम नराखेको भन्दै सहभागी नहुने उर्दी जारी गरेका छन् ।
विद्या पक्षमा खुलेका नेता–कार्यकर्तालाई पार्टीले नोटिस गरिरहँदा कोशीका मुख्यमन्त्र प्रभावशाली नेताहरूले पनि भण्डारीलाई भेट्नुलाई अर्थपूर्णरुपमा लिइएको छ । तर, भेटघाटका तस्बिरहरू कसैले सामाजिक सञ्जालमा राखेका छैनन् ।
काठमाडौं फर्किनुअघि पार्टी कार्यालयमा

आज काठमाडौं फर्किनुअघि उनले पाञ्चालीस्थित एमाले मोरङको कार्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गरिन् । एमाले पूर्व उपाध्यक्षको हैसियतमा सम्बोधन गरेकी उनले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्न आग्रह गरिन् ।

आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय रहेको बताउँदै भण्डारीले भनिन्, राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन पाइनँ । पदबाट निस्किएपछि पार्टी सदस्यता नवीकरण गरेँ ।

४५ वर्षअघि एमालेको सदस्यता लिएको भन्दै उनले पार्टी सदस्य पनि विराटनगरबाटै भएको र शपथ खाएको स्मरण गर्दै विराटनगर, मोरङ गृहजिल्ला, गृहनगरजस्तो लाग्ने बताइन् ।

नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिकरूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै उनले एमालेको सामान्य सदस्यमात्रै भएर पनि राष्ट्रिय एजेन्डामा काम गर्ने बताइन् ।

कार्यालयमा केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापासहितका नेता पाञ्चाली पुगेका थिए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल