Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विद्युत् प्राधिकरणको नाफा पौने ४ अर्बले घट्यो, ५ अर्बमा सीमित

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको खुद नाफा आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको छ। प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा खुद नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको हो।

आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले ८ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणको खुद नाफा १३ अर्ब ३१ करोड रुपैयाँ थियो।

प्राधिकरणका अनुसार विदेशी विनिमय दरमा भएको वृद्धिका कारण दायित्व उल्लेख्य बढेको छ। गत आर्थिक वर्षमा यस्तो दायित्व २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। विदेशी विनिमय दर, बढ्दो ब्याज तथा ह्रासकट्टी खर्चका कारण खुद नाफा घटेको प्राधिकरणको भनाइ छ।

यद्यपि, प्राधिकरणको विद्युत् बिक्री तथा अन्य आम्दानी भने बढेको छ। गत आर्थिक वर्षमा कुल आम्दानी १ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। विद्युत् बिक्रीबाट मात्रै १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२० प्रतिशत बढी हो।

कार्यसम्पादन सुधार, विद्युत् चुहावट नियन्त्रण र विद्युत् निर्यातमा भएको वृद्धिका कारण प्राधिकरणको कुल नाफा १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको जनाएको छ। त्यस्तै, सञ्चालन मुनाफा ७.२८ प्रतिशतले बढेर २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।

प्राधिकरणको कुल सम्पत्ति पनि ८.९ प्रतिशतले बढेर ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ। निर्माणाधीन पुँजीगत आयोजनामा २ खर्ब ६ अर्ब २६ करोड ७० लाख रुपैयाँ लगानी रहेको प्राधिकरणले जनाएको छ। समीक्षा अवधिमा ७४ अर्ब ६ करोड ६० लाख रुपैयाँ पुँजीकरण भएको छ।

प्राधिकरणका अनुसार ५ एम्पियरका २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत् निःशुल्क वितरण गरिएको छ। औसत विद्युत् बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिग्राहक विद्युत् खपत बढेर २ हजार ८८ युनिट पुगेको छ।

अनलाइन माध्यमबाट विद्युत् महसुल संकलन पनि बढेको छ। गत आर्थिक वर्षमा अनलाइनबाट ४० अर्ब ९९ करोड रुपैयाँ महसुल संकलन भएको छ, जबकि अघिल्लो वर्ष यस्तो संकलन ३४ अर्ब ३३ करोड रुपैयाँ थियो।

यसैबीच, पूर्वऊर्जामन्त्री तथा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा संकुचनप्रति गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन्। उनले प्राधिकरणलाई कमजोर बनाउने नभई अझ सक्षम, सबल, व्यावसायिक, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने धारणा राखेका छन्।

घिसिङले लोडसेडिङ अन्त्यदेखि विद्युत् निर्यातकर्ता बन्नेसम्मको प्राधिकरणको यात्रालाई सार्वजनिक संस्थानले सक्षम नेतृत्व र स्पष्ट उद्देश्य पाए राष्ट्रिय समृद्धिको बलियो संवाहक बन्न सक्ने उदाहरणका रूपमा उल्लेख गरेका छन्।