Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पहिल्यै माओवादी छाडेर एमाले छिर्न ठिक्क परेका नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन्। साउन ११ पदाधिकारी बैठक सुरु भएको थियो। गजुरेलले पार्टी नेतृत्वबाट भएका मुख्यतः ६ वटा ‘गल्ती’ औँल्याउँदै साउन १४ गते लिखितरूपमा राजीनामा पेस गरेका हुन्। राजीनामापत्रमा उनले पदाधिकारी सबैलाई सामूहिक राजीनामा दिनसमेत आह्वान गरेका छन्। गजुरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा पत्रमा पार्टी बिग्रनुमा आफू पनि दोषी रहेको स्वीकार गरी प्रायश्चित गरेका छन्। पदाधिकारी कमरेडहरू सामूहिक राजीनामा दिन तयार हुनुहुन्न भने म आफ्नो भागमा पर्ने गल्तीको नैतिक जिम्मेवारी लिँदै स्थायी समितिमा विस्तृत कुरा राख्न पाउने अपेक्षासहित उपमहासचिव पदबाट अध्यक्षसमक्ष राजीनामा पेस गर्ने अनुमति चाहन्छु, उनले लेखेका छन्। माओवादीले साउन २५ गतेका लागि स्थायी समितिको बैठक बोलाएको छ। गजुरेलले पार्टीमा देखापरेका समस्या समाधानका लागि बृहत् छलफल नगर्ने हो भने गम्भीर दुर्घटनामा पर्ने चेतावनी दिएका छन्। यतिखेर विरोधीहरूले नकारात्मक घटना घटाएर हामीलाई अवसर दिएका छन्। फलाम तातेका बेला चाहेअनुरूपको आकार दिन सकिन्छ। सेलाएपछि त फुट्ने हो। राष्ट्रिय सभा निर्वाचनमा अध्यक्ष प्रचण्डका भाइ नारायण दाहाललाई अध्यक्ष बनाइएकोप्रति उनले गम्भीर असन्तुष्टि जनाएका छन्। उनले नेताहरूको जिम्मेवारी दिँदा गरेको गल्तीले नेतृत्वको अक्षमता छताछुल्ल भएको भन्दै ढिला नगरी सच्याउन आग्रह गरेका छन्। राष्ट्रिय सभा अध्यक्ष चयन प्रक्रियामा अपनाइएको तरिकाले पदाधिकारीहरूको नैतिक धरातल धुजाधुजा भएको छ, गजुरेलले उल्लेख गरेका छन्। मार्क्सवादको नीति, विचार र विधिबाट पार्टी च्यूत भएको गजुरेलको ठम्याइ छ। यस्तै, पार्टीको बैठकमा नेताहरूले औपचारिक रूपमा पेस गरेको राजनीतिक विषयवस्तुप्रति कसैको चासो र चिन्ता नभएको र त्यसमा छलफलसमेत नभएकोमा उनको असन्तुष्टि छ। आठौँ महाधिवेशनमा ४६ जनाको स्थायी समिति निर्माण गर्दा जम्मा १५ जना मात्र पदाधिकारी हुनुपर्नेमा २१ जना बनाएर विधि र पद्धति मात्र नभई विधानकै उल्लंघन भएको उनले आरोप लगाएका छन्। स्थायी समितिमा वैचारिक, राजनीतिक क्षमता र गौरवपूर्ण इतिहास र अनुभव भएका नेता छुटाएको भन्दै गजुरेलले आफ्ना नेता मात्र समेट्ने चिन्ता नेताहरूमा देखिएकोमा असहमति जनाएका छन्।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल