Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवाद मिलाउँदा को को सहिद ?

काठमाडौँ । पार्टी नै विभाजन हुने गरी अघि बढेको सत्तारुढ दल नेकपाको अन्तरकलह टुंग्याउन दुई क्याप्टेनले गरेको सहमतिअनुसार नेकपामा जारी विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन भएको छ ।
कार्यदलमा पनि भागवण्डा गरिएको छ । प्रधानमन्त्री तथा तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल छन् भने वरिष्ठ नेता माधव नेपाल पक्षधर भीम रावल र सुरेन्द्र पाण्डे रहेका छन् । त्यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट जनार्दन शर्मा, पम्फा भुसाल परेका छन् । पार्टी विवाद हल गर्ने गरी बनेको यो कार्यदलमा पनि नेताहरुले भागवण्डामा प्रतिनिधि छुट्याएका छन् ।

नेकपाभित्र एकले अर्कोलाई विश्वास गरेकै कारण भागवण्डा गर्नु परेको हो । दुई अध्यक्षबीचको स‌ंवाद टुटेको ९ दिनपछि बिहीबार ओली र दाहालबीच सकारात्मक छलफल भएको थियो । सोही दिन कार्यदल बनाउन सहमत भएका उनीहरुले शुक्रबार भएको छलफलमा कार्यदलमा रहने व्यक्ति र कामबारे सहमति जुटाएका हुन् । कार्यदलले पार्टी विवाद र शक्ति बाँडफाँडको विषय टुंग्याउने गरी सहमतिको मस्यौदा बनाउने बताइएको छ । पहिलो अध्यक्ष ओली नै रहने तर दाहाल पूर्ण रुपले पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन गर्ने तयारी छ ।

यसबाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने र मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने गरी कार्यदलले सहमतिको मस्यौदा बनाउनेछ । त्यस्तै केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावबारे पनि कार्यदलले काम गर्नेछ । कार्यदलले काम सकेपछि स्थायी कमिटी बैठक बसाउने र त्यहाँबाट निर्णय गर्ने ओली र दाहालको तयारी छ । दुई अध्यक्षबीचको संवादअघि महासचिव पौडेल, स्थायी कमिटी सदस्य पोखरेल र शर्माले सहमतिका लागि गृहकार्य गर्न शीर्ष नेतासँग लगातार भेट गरेका थिए ।

क–कसको जागिर जाने ?
पार्टीभित्रको विवाद मिलाउँदा नेकपाका केही नेताहरुको खाइपाई आएको जागिर जाने चर्चा छ । यसरी पार्टीेको विवाद मिलाउँदा पहिलो प्रहार प्रदेशका मुख्यमन्त्रीहरुमाथि हुने भएको छ । संयोगवश नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको तर्फबाट समितिमा सदस्य बनेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको मुख्यमन्त्री पद समेत धरापमा परेको छ । यसैगरी प्रदेश १ का शेरधन राई, बागमती प्रदेशका डोरमणि पौडेलको पद समेत अब धरापमा परेको हो । उनीहरुको स्थानमा वरिष्ठ नेता माधवकुमार नेपालले विश्वास गरेका पात्रहरु प्रदेश १ मा भीम आचार्य, बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेमध्ये एकको सम्भावना छ भने प्रदेश ५ मा भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल पक्षधर कुलबहादुर केसीलाई ल्याउने सम्भावना बढेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने नेतृत्व असफल भएको चर्चा चले पनि तत्काल मुुख्यमन्त्री परिवर्तन गर्ने सम्भावना रहेको छैन ।