Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विश्वकपमा चम्किएका केप भर्डका गोलकिपर भोजिन्हा चिलीको कोलो कोलोमा आबद्ध हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका केप भर्डका अनुभवी गोलकिपर भोजिन्हा चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्।

४० वर्षीय भोजिन्हा पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि कुनै क्लबविनै विश्वकप खेलेका थिए। तर, प्रतियोगितामा उनले गरेको उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय फुटबल जगतको ध्यान आकर्षित गरेको थियो।

विशेषगरी विश्वकप विजेता बनेको स्पेनविरुद्ध गोलरहित बराबरीमा उनले गरेको उत्कृष्ट गोलकिपिङको व्यापक प्रशंसा भएको थियो। उक्त प्रदर्शनपछि उनी समर्थकमाझ चर्चित बनेका थिए।

कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिन्हा क्लबमा आबद्ध हुने पुष्टि गर्दै केही दिनभित्र उनी चिली पुग्ने र स्वास्थ्य परीक्षण पूरा गरेपछि औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी दिए।

मोसाका अनुसार विश्वकपमा देखाएको प्रदर्शनका आधारमा भोजिन्हा यो अवसरका हकदार हुन्। उनको आगमनले टोलीलाई खेलकुदका साथै व्यावसायिक र बजार प्रवर्द्धनका हिसाबले पनि फाइदा पुग्ने विश्वास क्लबले गरेको छ।

चिलीको राजधानी सान्टियागोस्थित कोलो कोलो हाल देशको शीर्ष फुटबल प्रतियोगिता ‘लिगा डे प्रिमेरा’को शीर्ष स्थानमा रहेको छ।

यद्यपि, स्थानान्तरण प्रक्रिया अझै औपचारिक रूपमा पूरा हुन बाँकी छ। क्लबले सामाजिक सञ्जालमा भोजिन्हाको परिचित घुँघरिएको कपाल देखिने तस्बिर सार्वजनिक गर्दै उनको आगमनको संकेत दिएको छ।

विश्वकपमा स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै केप भर्डलाई पहिलो पटक विश्वकपमा अंक दिलाएका भोजिन्हा त्यसपछि समर्थकमाझ ‘कल्ट हिरो’का रूपमा परिचित बनेका थिए। सामाजिक सञ्जालमा पनि उनका लाखौं नयाँ समर्थक थपिएका छन्।

विश्वकपमा केप भर्डले अन्तिम ३२ मा अर्जेन्टिनाविरुद्ध पनि कडा चुनौती प्रस्तुत गरेको थियो। अतिरिक्त समयमा ३–२ ले पराजित भएपछि टोली प्रतियोगिताबाट बाहिरिएको थियो।

भोजिन्हाले यसअघि स्लोभाकिया, अंगोला, मोल्डोभा, साइप्रस र पोर्चुगलका विभिन्न क्लबबाट व्यावसायिक फुटबल खेलिसकेका छन्।