Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विष्णुको हातमा छ एमालेको भावी नेतृत्व

काठमाडौं । जेनजी आन्दोलनको रापतापमा एक वर्ष अघिनै महाधिवेशन गर्न लागेको नेकपा एमालेभित्र भावी नेतृत्वको बहस चुलिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आठौँ महाधिवेशनदेखि नै केपी शर्मा ओलीनिकट छन्। आठौँ महाधिवेशनमा ओलीकै प्यानलबाट सचिव जितेका उनले नवौँमा उपमहासचिव र दसौँमा उपाध्यक्ष पनि जिते। पौडेलले सधैँ संकटका बेला ओलीलाई साथ दिँदै आएका छन्। तर, ओलीका विश्वासपात्र महासचिव शंकर पोखरेलसँग पौडेलको कडा प्रतिस्पर्धा हुने गरेको छ। प्रदेश होस वा जिल्लाको अधिवेशनमा पौडेलले पोखरेलविरुद्ध छुट्टै समूह तयार पारिहाल्थे। त्यही कारण पौडेलले आफ्नो छुट्टै पहिचान बनाएर संगठनमा पकड राख्दै आएका छन्। २७–२९ मंसिरमा काठमाडौँमा हुने एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिँदैछन्। यो महाधिवेशनमा पौडेलले कसलाई साथ देलान् भन्ने चासोको विषय बनेको छ। दुई पटक अध्यक्ष भइसकेकोले सुविधाजनक अवस्थामा रहेका ओलीलाई एउटै समूहमा लामो समय काम गरेका पोखरेलले चुनौती दिने कुरा चानचुने नभएको एमाले नेताहरू बताउँछन्। त्यसमाथि, आफ्नो नवीकरण भइसकेको सदस्यता रोक्ने ओली निर्णयपछि क्रुद्ध बनेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई साथ दिँदैछन्। मंसिर ४ गते बसेको सचिवालय बैठकमा ओलीकै सामुन्ने पोखरेलले अध्यक्ष उठ्न लागेको जानकारी गराइसकेका छन्। केही दिनमै महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गरेर सन्देश जारी गर्दैछन्। विद्या–ईश्वर समूह खडा गरेर महाधिवेशन प्रतिनिधिसम्म पुग्ने उनीहरूको तयारी छ। सचिवालय सदस्यमध्ये बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्ने यो समूहले तेस्रो पटक अध्यक्ष बन्ने ओलीको योजना सफल हुन नदिने बताउँदै आएको छ। उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट र रघुवीर महासेठ यही समूहमा छन्। सचिवालयका अन्य केही सदस्य पनि आफ्नो पक्षमा खुल्नसक्नेमा यो समूह आशावादी छ। त्यसैमध्येमा पर्छन् उपाध्यक्ष विष्णु पौडेल। देशभर सांगठनिक सञ्जाल भएकाले पौडेल निर्णायक हुनसक्ने यो समूहको बुझाइ छ। तर, दसौँ महाधिवेशनमा भीम रावलले चुनौती दिँदा पौडेलले ओलीलाई साथ दिएका थिए। सोही कारण उपाध्यक्ष निर्वाचित भएकाले यसपटक पनि उनले ओलीलाई नछोड्ने उपाध्यक्ष गुरु बराल बताउँछन्। अध्यक्ष ओलीलाई पौडेलले निरन्तर साथ दिएको उनको भनाइ छ।
ओलीविरुद्ध महाधिवेशनमा प्यानलै उठाउने निचोडमा पुगेको विद्या–ईश्वर समूहले १५ पदाधिकारीको विषयमा पनि छलफल थालेको छ। यद्यपि, केन्द्रीय समितिसम्म उठाउने कि नउठाउने भन्ने निर्णय भइनसकेको एक नेताले बताए। पौडेल लगायतका केही नेता खुलिनसकेकोले विद्या–ईश्वर समूह कम्तीमा मंसिर १५ गतेसम्म पर्खिने योजनामा छ। अध्यक्ष ओलीले पनि १५ जना पदाधिकारी कसलाई बनाउँछन् र बाँकी नेतालाई कसरी व्यवस्थापन गर्छन् भन्ने अहिलेसम्म प्रस्ट छैन। ओलीलाई गुरु बराल, रामबहादुर थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्यालले ढुक्कैसँग साथ दिएका छन्। त्यसमाथि विष्णु पौडेल पनि यतै हुँदा यी सबै नेताको व्यवस्थापन गर्नुपर्छ। महाधिवेशन लागिसकेकोले नेताहरूले प्रतिनिधि चयनमा विशेष ध्यान दिएका छन्। पौडेलले अहिलेसम्म आफ्नो दाबी कुन पदमा हो पनि नभनेको र पहिला जस्तै प्रतिनिधि चयनमा विशेष चासो नराखेको उनीनिकट अर्का नेता बताउँछन्। देशभरका नेताहरूले पौडेलले लिने लाइनबारे चासो लिए पनि उनले केही नभनेको ती नेताले बताए। एमालेको यसपटकको महाधिवेशनमा तीव्र प्रतिस्पर्धा हुने भएकाले पौडेलले चाहे उनी निर्णायक बन्न सक्ने ती नेता दाबी गर्छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल