Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दर्जनौँको ज्यान जाने गरी भएको हताहतीसम्बन्धी घटनामा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान लिन थालिएको छ। हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत ओलीको जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालयको टोलीले बयान लिन थालेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली तत्कालै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना कमजोर भएकाले जिल्ला प्रहरी परिसर र सरकारी वकिलले त्यहीँ पुगेर बयान लिइरहेका छन् । विभिन्न आधा दर्जन स्वास्थ्य समस्यासँग जुधिरहेका ओलीलाई चिकित्सकहरूले तत्काल डिस्चार्ज गर्न नसकिने जवाफ दिएपछि अस्पतालमै पुगेर बयान लिने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले बताएका छन् । गत शनिबार गुन्डुस्थित निवासबाट पक्राउ परेका ओली त्यसको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । तत्कालीन गृहमन्त्री रमेश लेखक भने अहिले जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । उनको बयान भने त्यहीँ चलिरहेको छ। उनलाई नजिकैको सरकारी वकिलको कार्यालयमा लगेर बयान गराउने क्रम सकिएको छ। शनिबार पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर जिल्ला प्रहरी परिसरले पाँच दिनको म्याद लिएको थियो । अब दुवैजनाका लागि बिहीबार नै नयाँ म्याद लिने तयारी प्रहरीले गरेको छ। पहिलो पटक अदालत लगिएका लेखकलाई पनि यस पटक भिडियो कलबाटै दोस्रो म्याद लिन लागिएको छ। ओलीले पहिलो पटक पनि अस्पतालबाटै म्याद लिएका थिए । भदौको जेन(जी आन्दोलनमा भएको दमन र विध्वंशबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग बनेको थियो । त्यही आयोगको सिफारिसका आधारमा दुवैजनालाई प्रहरीले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेको हो ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल