Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीमान–श्रीमती घरभित्रै मृत फेला

रुपन्देही । प्यूठानको माण्डवी गाउँपालिका–२ स्थित रातामाटेमा एक दम्पती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । मृतक ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया पत्नी हुकुमा परियार शनिबार दिउँसो आफ्नो घरभित्र मृत फेला परेका हुन् । चार छोरा भारतमा र ३ छोरी बिहे भएर दाङमा रहेका परियार दम्पतिको मृत्यु प्रहरीले नै रहस्मय भनेको छ । घटनाको विवरण अनुसार, शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखुलेपछि छिमेकीले ढोका ढकढक्याउन गएका थिए । छिमेकीले चिहाएर हेर्दा दम्पती लडेको अवस्थामा फेला परेपछि प्रहरीलाई सूचना दिइएको हो । प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालका अनुसार, घटना शंकास्पद रहेको छ । मृतकको शरीरमा घाउ र चोटका निशानहरू देखिएका छन् । घटनाको अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर झिकिएको तर यसमा केही समय लाग्ने बस्यालले बताए । ‘दुवैको अनुहार र टाउकोमा चोट लागेको छ, बिस्तारै पल्टेको अवस्थामा भेटिएको छ, चार छोरा भारत, छोरी ३ बिहे भएर घरमा एक्लै रहेको पाइएको छ । अहिले मेरो नेतृत्वमा टोली घटनास्थलमै छ । पौने १ बजे खबर पाएर आएका हौं, अहिलेसम्म केही पत्तो लागेको छैन’, प्रनाउ बस्यालले भने । मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए । उनीहरूका चार छोरा भारतमा बस्दै आएका छन् भने तीन छोरी विवाहित भई दाङतिर बस्दै आएकी थिइन् । घटनास्थलमा प्रहरीले स्थानीयबाट सोधपुछ गरिरहेको छ । प्रहरी निरीक्षक केशवराज केसीका अनुसार, सुरुमा स्थानीयको सूचनामा प्रहरी चौकी तिरामबाट प्रहरी वरिष्ठ हवल्दार सरद बस्नेतको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । पछि डिएसपी बस्याल र प्रहरी निरीक्षक केसीसहितको प्रहरी टोली पनि घटनास्थल पुगेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने मृतकको शव परीक्षणका लागि पठाइएको छ । घटनाको कारण र पृष्ठभूमि अनुसन्धान अन्तर्गत रहेको छ ।