Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रहरीले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरूद्ध तत्काल सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अदालतमा मुद्दा लैजाने भएको छ। पाँच जिल्लाका पाँचवटा सहकारी ठगीमा अनुसन्धान गरिरहेको प्रहरीले सबैभन्दा पहिला पोखराको सूर्यदर्शन सहकारीको मुद्दा जिल्ला सरकारी वकिल कार्यालय, कास्कीमा बुझाउने भएको छ। सरकारी वकिलले उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरी अभियोगपत्र तयार गर्नेछन् र अदालतमा मुद्दा दायर गर्नेछन्। पुस ५ गतेभित्र सबै जिल्लाको मुद्दा अदालत टेकाइसक्ने तयारी प्रहरीको छ। पोखराको सूर्यदर्शन सहकारीको ठगीमा ४० जनाविरूद्ध पूरक अभियोगपत्र दायर गर्ने तयारी भएको छ। यीमध्ये ५ जना हाल कास्की प्रहरीको हिरासतमै छन्। यी ५ जनामध्ये छविलाल सबैभन्दा पहिला अर्थात् गत असोज ६ गते पक्राउ परेका हुन्। त्यसै दिनबाट म्याद गणना गरी ९० दिनभित्र यो मुद्दा अदालत टेकाउनुपर्ने कानुनी बाध्यता छ। त्यो म्याद पुस ५ गते सकिँदै छ। रवि लामिछाने कात्तिक २ गते समातिएका थिए। यहीबीचमा जीबी राईसँग निकट सम्पर्कमा रहेकी र अस्वाभाविक कारोबारसमेत देखिएकी लीला पछाई, छविका अंगरक्षक रामबहादुर खनाल र सहकारीकै एक सञ्चालक कृष्ण गुरुङ पक्राउ परेका छन्। यसअघि जीबी राई, कुमार रम्तेलसहित १९ जनाविरूद्ध मुद्दा दायर भइसकेको छ। तीमध्ये राईसहित केही फरार छन् भने केही पुर्पक्षका क्रममा थुनामा छन्।
प्रहरीले यसपटक सहकारी ठगीका अलाबा संगठित अपराधमा पनि मुद्दा चलाउने तयारी गरेको छ। संगठित अपराध गर्ने गिरोहमा प्रमुख चार योजनाकारका रूपमा जीबी राई, छविलाल जोशी बन्जाडे, कुमार रम्तेल र रवि लामिछाने रहेको प्रहरीको दाबी छ। कास्की प्रहरीले रवि लामिछाने र उनका व्यावसायिक साझेदारसमेत गरी ४ जनाले मात्र गोर्खा मिडियामार्फत ५ करोड ५८ लाख रूपैयाँ संगठित तवरले ठगेको निष्कर्ष निकालेको छ। यो रकम ४ जनालाई भाग गर्दा प्रत्येकको काँधमा १ करोड ३९ लाख ५० हजार रूपैयाँ बिगो पर्न आउने भएको छ। जीबी राई गोरखा मिडियाका अध्यक्ष थिए भने छविलाल जोशी बन्जाडे उपाध्यक्ष रहेका थिए। उक्त मिडिया स्थापना गर्दा रवि सेयर सदस्य एवं प्रबन्ध निर्देशक थिए। पछि कुमार रम्तेल पनि सञ्चालकका रूपमा भित्रिए। उनीहरू ४ जना मिलेर पोखराको सूर्यदर्शन सहकारीको मात्र संगठित तवरले ५ करोड ५८ लाख रूपैयाँ ठगेको निष्कर्ष प्रहरीले निकालेको छ। अन्य सहकारीको समेत जोड्दा ६७ करोड रूपैयाँ हुन्छ। यी सबै सहकारीको बिगोमध्ये रविको भागमा मात्र १६ करोडभन्दा बढी पर्ने देखिएको छ। उनीहरूले गोर्खा मिडिया नेटवर्कको स्थापना नै सहकारीको रकम ठग्ने र सम्पत्ति शुद्धीकरण गर्ने योजनाका साथ गरेको प्रहरीको दाबी छ। गत वर्ष माघ २४ गते प्रहरीले काठमाडौँको शंखमूलस्थित छविलाल बन्जाडेको घरमा छापा मारेको थियो। त्यस क्रममा प्रहरीले जीबी राई समूहका विभिन्न व्यावसायिक कारोबारसम्बन्धी विद्युतीय अभिलेख रहेको सर्भर फेला पारेर नियन्त्रणमा लियो। त्यही सर्भरले रवि लामिछानेको समेत कारोबार र संलग्नता खुलाएको प्रहरीको दाबी छ। उक्त सर्भरमा यसअघि मुद्दा चलाइसकिएका अभियुक्तहरूका विषयमा पनि संलग्नताको मात्रा र प्रकृति खुलाउने थप प्रमाण प्राप्त भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले सबैभन्दा बलियो प्रमाणका रूपमा नै यही सर्भरको अभिलेखलाई ठानेको छ। यस्तै रविका नाममा जारी भएको ऋण तथा निकासा गरिएको सापटी, उनले काटेका चेक र कम्पनीसम्बन्धी अन्य कागजात पनि प्रहरीले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी प्रमाणका रूपमा प्रस्तुत गर्ने भएको छ।
२०८२ बैशाख ७
ताजा नेपाल
२०८२ बैशाख ६
ताजा नेपाल
२०८२ बैशाख ६
ताजा नेपाल