Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसदप्रति जवाफदेही हुनु पर्दैन प्रधानमन्त्रीज्यू ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग करिब साढे दुई घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा क्षेत्रीय समस्या, सरकारको कार्यसम्पादन, संसद्मा प्रधानमन्त्रीको उपस्थिति, सीमाका विवाद र कृषि आपूर्तिलगायत विषयमा सांसदहरूले प्रश्न उठाएका थिए।

छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्रसिंह महता, जगत जोशी र केपी खनाल सहभागी थिए।

छलफलमा सांसदहरूले प्रधानमन्त्रीको संसद्मा न्यून उपस्थितिबारे प्रश्न उठाएका थिए। विपक्षीको आलोचनाको सामना गर्न प्रधानमन्त्रीको नियमित उपस्थिति आवश्यक रहेको उनीहरूको भनाइ थियो।

प्रधानमन्त्री शाहले भने संसद्मा उपस्थित नभएकै विषयलाई ठूलो मुद्दा बनाउन नहुने धारणा राख्दै सरकारको प्राथमिकता काममा केन्द्रित रहेको बताए।

उनले आवश्यकताअनुसार संसद्मा जाने र विपक्षीका प्रत्येक प्रश्नको पछि लागेर सरकार अल्झिन नहुने धारणा व्यक्त गरेको छलफलमा सहभागी सांसदहरूले बताएका छन्।

सांसद ताराप्रसाद जोशीले भने प्रधानमन्त्रीको संसद्मा उपस्थित भई सम्बोधन गर्नु लोकतान्त्रिक अभ्यासका लागि महत्त्वपूर्ण हुने भन्दै नियमित उपस्थितिको आवश्यकता औंल्याएका थिए।

सांसदहरूले दार्चुलास्थित लिपुलेक नाकाबाट भारत र चीनले व्यापार सुरु गरेको तथा सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तटबन्ध भत्काएको घटनाबारे पनि प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए।

सहभागी सांसदहरूका अनुसार प्रधानमन्त्रीले ती विषयबारे आफू जानकार रहेको उल्लेख गरे पनि विस्तृत धारणा वा योजना भने सार्वजनिक गरेनन्।

सांसद ताराप्रसाद जोशीले किसानले भोगिरहेको मल अभाव र ग्यास आपूर्तिको समस्याबारे सरकारको दीर्घकालीन रणनीति के छ भन्ने प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्रीले आगामी आर्थिक वर्षका लागि मल खरिदमा थप बजेट विनियोजन गरिएको र सरकार यस विषयमा सचेत रहेको बताएका थिए। साथै, नीति तथा कार्यक्रममै त्यससम्बन्धी व्यवस्था उल्लेख गरिएको भन्दै त्यसलाई अध्ययन गर्न आग्रह गरेका थिए।

तर सांसद जोशीले नीति तथा कार्यक्रम पर्याप्त नभएको र त्यसलाई समयानुकूल अद्यावधिक गर्नुपर्ने धारणा राखेका थिए।

छलफलमा सहभागी केही सांसदहरूले प्रधानमन्त्रीसँगको संवाद अपेक्षाअनुसार खुला र सहज नभएको प्रतिक्रिया दिएका छन्।

एक सांसदका अनुसार प्रधानमन्त्रीले आफूलाई असहज लागेका प्रश्नमा तत्काल प्रतिवाद गर्ने शैली देखाएका थिए। अर्को सांसदले प्रधानमन्त्रीले सांसदहरूको सुझावभन्दा आफ्नै टोलीसँग बढी परामर्श गर्ने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्।

सांसद केपी खनालले गेटा अस्पताल, छाडा पशुचौपाया व्यवस्थापन, मल आपूर्ति तथा सुदूरपश्चिमका अन्य जनसरोकारका विषय सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए।

यो प्रधानमन्त्री शाह र सुदूरपश्चिमका सांसदबीच भएको दोस्रो औपचारिक छलफल हो। सांसदहरूले आगामी दिनमा यस्ता छलफललाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताएका छन्।