Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षण गराउन माग

काठमाडौं । कोरोना कहरकाबीचमा पनि फिल्डमा खटिने सञ्चारकर्मी धमाधम कोरोना संक्रमित हुन थालेपछि नेपाल पत्रकार महासंघले कार्यस्थलमा गएर समाचार संकलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरसको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को संक्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गरेका हुन्। महामारीको संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासंघदे सबै सञ्चारकर्मीलाई अपिल गरेको छ। सञ्चार प्रतिष्ठानले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीको प्रयोगसँगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघले आग्रह गरेको छ। विश्वव्यापीरुपमा फैलिएको कोभिड १९ को संक्रमण पछिल्ला दिनमा नेपालमा पनि तीव्र गतिमा फैलिँदै गइरहेको उल्लेख गर्दै उनले महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेको बताए। संक्रमणको दर वृद्धि भएसँगै पछिल्लो समयमा अग्रपंक्तिमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीमा समेत कोरोना संक्रमण देखिने क्रम बढेको महासंघले जनाएको छ। महासचिव विष्टका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन्। विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सन संक्रमणको उच्च जोखिममा रहेका छन्।