Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सञ्चारगृहअगाडि शंकास्पद गाडी प्रकरणले रास्वपाभित्र मतभेद सतहमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच असार २८ गते करिब चार घण्टा लामो छलफल भएको भोलिपल्ट सञ्चारगृहअगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएको घटनाले पार्टीभित्रको आन्तरिक मतभेद सतहमा आएको चर्चा सुरु भएको छ।

असार २९ गते बिहान कान्तिपुर पब्लिकेसन, हिमालय टेलिभिजन र अनलाइनखबरका कार्यालय प्रवेशद्वारअगाडि शंकास्पद रूपमा गाडी पार्क गरिएको थियो। अनुसन्धानका क्रममा तीमध्ये केही सवारी रास्वपासँग आबद्ध व्यक्तिहरूले प्रयोग गरिरहेको खुलेपछि घटनाले राजनीतिक चर्चा पाएको हो।

कान्तिपुरअगाडि पार्क गरिएको गाडी रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य रवि जैसवालले प्रयोग गर्दै आएको खुलेको छ। उनी पूर्वमहामन्त्री भूपदेव शाह निकट मानिन्छन्। अनलाइनखबरअगाडि पार्क गरिएको गाडी सुनिल पौडेलको नाममा दर्ता भए पनि उनका दाजु तथा रास्वपा कार्यकर्ता सुजन पौडेलले प्रयोग गर्दै आएको बताइएको छ। हिमालय टेलिभिजनअगाडि राखिएको गाडी भने राजीवकाजी श्रेष्ठको नाममा रहेको उल्लेख गरिएको छ।

घटनापछि सभापति लामिछानेले तत्काल गृहमन्त्री सुधन गुरुङसँग जानकारी लिएको र त्यसपछि सम्बन्धित सुरक्षा निकायसँग थप बुझ्ने प्रयास गरेको उनीनिकट स्रोतले जनाएको छ। प्राप्त जानकारीबाट सन्तुष्ट नभएपछि उनले घटनाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न निर्देशन दिएका थिए।

उनकै निर्देशनपछि रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै सञ्चारगृहलाई त्रसित पार्ने उद्देश्यका गतिविधिको भर्त्सना गरेका थिए। विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन, संलग्न व्यक्तिको पहिचान तथा सञ्चारमाध्यमको भौतिक र मनोवैज्ञानिक सुरक्षाको सुनिश्चितता गर्न सरकार र सुरक्षा निकायसँग माग गरिएको थियो।

घटनापछि रास्वपाभित्र विभिन्न कोणबाट बहस सुरु भएको छ। सभापति निकट नेताहरूले पार्टीभित्र तथा सरकारभित्र रहेका केही पक्षले लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच दूरी बढाउने प्रयास गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा घटनाको समर्थन गरिएको विषयलाई पनि उनीहरूले चासोका रूपमा उठाएका छन्।

यता, प्रधानमन्त्रीका सुशासन सल्लाहकार तथा रास्वपाका केन्द्रीय सदस्य सुदीप ढकालले घटनाबारे कानुनी प्रक्रिया अघि बढ्नुपर्ने बताए। उनले कसैले पनि कानुनभन्दा माथि हुन नसक्ने भन्दै गल्ती गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने धारणा राखे।

संसद्मा पनि यस विषयले प्रवेश पाएको छ। रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहलाई तर्साउने प्रयासको कडा शब्दमा निन्दा गर्दै प्रेस स्वतन्त्रतामाथिको कुनै पनि हस्तक्षेप अस्वीकार्य हुने बताए। सांसद रीमा विश्वकर्माले पनि सरकारलाई नागरिकका आवाजप्रति संवेदनशील हुन आग्रह गर्दै शासन सञ्चालनमा संयमता आवश्यक रहेको धारणा राखिन्।

यद्यपि, पार्टीभित्रका सबै नेताहरूले एउटै विषयलाई प्राथमिकता दिएका थिएनन्। बालेन समूहसँग निकट मानिने केही सांसदहरूले भने संसद्मा अन्य विषयमा धारणा राखेका थिए।

यसबीच प्रहरीले सञ्चारगृहअगाडि पार्क गरिएका गाडीलाई ट्राफिक नियम उल्लंघनबापत जरिवाना गरी छाडिसकेको जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।