Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । काँग्रेससँग सत्ता साझेदारी गरेको माओवादीले अन्य दलसँग मोर्चाबन्दी गरेपछि सत्ता समिकरणमा हलचल पैदा भएको छ । त्यो हलचलको असर संसदको पहिलो र दोस्रो दल मिलेर सरकार बन्नेतिर अघि बढेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेकै क्षण नयाँ सत्ता समीकरणको रूपरेखा कोर्न कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भित्रभित्रै चलिरहेका संवादले सत्तारूढ गठबन्धनभित्र अविश्वास बढाएको छ । धेरै साना दलको समीकरण बन्दा राजनीतिक अस्थिरता हुने भन्दै एमालेले दुई ठूला दलको सहभागितामा सरकार बनाउन पहल गरेको छ, जसले आकार भने लिइनसकेको दुवैतर्फका नेताहरूको भनाइ छ । स्वास्थ्य परीक्षणका लागि भन्दै जेठ ३० मा सिंगापुर गएका देउवा बुधबार बिहान ११ बजे स्वदेश फर्कने कार्यक्रम थियो तर फर्कने समय अचानक परिवर्तन गरेर देउवाले केही महत्त्वपूर्ण राजनीतिक भेटघाट गरेको सत्ता गठबन्धनभित्र आशंका छ । यता, यही बेला प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेबाहेकका वाम शक्तिलाई एकत्रित गराई असार ४ मा समाजवादी मोर्चा गठन गरेका छन् । यी घटनाक्रमले कांग्रेस र माओवादी आपसमा संशकित भएको बेला एमालेले नयाँ गठबन्धनको पहल तीव्र बनाएको छ । एमालेसँग संवादमा कांग्रेसका एक नेताका अनुसार एमालेका नेताहरूले नै कांग्रेस–एमाले गठबन्धन बनाउन पहलकदमी लिइरहेका छन् । देउवा सकारात्मक नभए तत्काल गठबन्धन सम्भव नहुने र कांग्रेसको इतर समूह पनि सामेल नभए नयाँ गठबन्धन बलियो नहुने ठानेर एमालेले कांग्रेसका सबै पक्षसँग संवाद गरिरहेको छ । कांग्रेस महामन्त्री गगन थापा तत्काल त्यस्तो सम्भावना नदेखिए पनि भविष्यमा कांग्रेस र एमालेबीच समीकरण बन्न असम्भव नभएको बताउँछन् । एमाले पहलमा प्रधानमन्त्री भएका दाहाललाई कांग्रेसले विश्वासको मत दिएपछि तथा राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई माओवादीले समर्थन गरेपछि एमाले–माओवादी गठबन्धन टुटेको थियो । त्यसपछि देउवा, दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आलोपालो सरकार चलाउने समझदारीसमेत गरेका छन् । सहमतिअनुसार दाहालले दुई वर्ष, नेपालले एक वर्ष र देउवाले अन्तिम दुई वर्ष सरकारको नेतृत्व गर्नेछन् । सत्ता गठबन्धनभित्र पनि प्रधानमन्त्रीले समाजवादी गठबन्धन मोर्चा बनाएका छन् । कांग्रेसमाथि दबाब बनाइराख्न दाहालले यो कदम लिएका हुन् भन्ने कांग्रेस नेताहरूको भनाइ छ । यद्यपि दाहालले कांग्रेसलाई आश्वस्त पार्न खोजेका छन् । भुटानी शरणार्थी प्रकरणलगायतमा सरकारको नेतृत्व गरेको दलबाटै कांग्रेसलाई बदनाम बनाउने काम भइरहेको र यसले सत्ता हस्तान्तरण हुने कुरामा पनि अविश्वास बढेको भन्दै कांग्रेसका कतिपय नेताहरू एमालेसँग समीकरणको पक्षमा देखिएका छन् । पछिल्ला दिन दाहाल र देउवाबीच पनि भेटघाट पातलिएका छन् । निकट नेताहरूका अनुसार खासगरी नक्कली शरणार्थी प्रकरणमा सरकारले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई छानबिन दायरामा तानेपछि देउवा दाहालसँग असन्तुष्ट छन् । दाहाल र देउवाबीच सुषुप्त रूपमा रहेको खटपट अहिलेको गठबन्धनको भविष्यसँग जोडिएको र सोही कारण दुवै पक्षले आ–आफ्नो तयारी थालेको स्रोतहरू बताउँछन् । चुनावी वर्षमा सरकारको नेतृत्व लिँदा प्रभावकारी काम देखाउन नपाइने तर्क गर्दै कांग्रेस नेताहरूले देउवालाई एमालेसँग मिलेर सरकारको नेतृत्व गर्न सुझाइरहेका छन् भने कतिपयले गठबन्धनलाई धोका दिँदा बुमर्याङ हुने तर्क गरिरहेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारका बारेमा विभिन्न चलखेल बढिरहे पनि कांग्रेस र माओवादीबीच आशंका बढ्नुपर्ने कुनै कारण नभएको बताए ।माओवादी सचिव देवेन्द्र पौडेल पनि यो सरकार नै निरन्तर चलिरहने वातावरण रहेको दाबी गर्छन् । संस्थापन पक्षका नेतासमेत रहेका कांग्रेस केन्द्रीय प्रचार विभागका प्रमुख मीन विश्वकर्मा भने सत्तासमीकरण बदलिने र नबदलिने कुरा प्रधानमन्त्री दाहालकै हातमा रहेको बताउँछन् । समाजवादी मोर्चाप्रति कांग्रेसको आशंका नभएको उनले बताए । नीतिगत रूपमा एमालेसँगको समीकरणमा जानुपर्ने पक्षमा रहेका कांग्रेस नेता मीनेन्द्र रिजाल गठबन्धनका बीचमा भएको सम्झौता नाघेर नयाँ समीकरण बन्ने सम्भावना नभएको बताउँछन् । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने मोर्चाको मुख्य उद्देश्य रहेको दाबी गरिएको छ । यसका लागि मोर्चाले १५ बुँदे वैचारिक एवं राजनीति प्रतिबद्धता सार्वजनिक गरेको छ तर सत्ता राजनीतिमा उसको गहिरो चासो छ । मोर्चामा आबद्ध तीन दलसँग प्रतिनिधिसभामा ५४ सांसद छन् । यो संख्या जुनसुकै बेला हुन सक्ने सत्ता संघर्षको खेलमा निर्णायक बन्न सक्छ । कांग्रेस सभापति देउवा ‘उपचार’ का लागि देशबाहिर रहेका बेला सरकारको नेतृत्व गरेका प्रधानमन्त्री दाहालको अगुवाइमा मोर्चा गठन गरिनु बहुआयामिक रणनीतिमा केन्द्रित रहेको नेताहरू बताउँछन् ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल