Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

समयले मिलाउँदैछ दुई ध्रुव, राजनीतिमा सबै जायज

काठमाडौं । समय सबैभन्दा बलबान हुन्छ । कुनै बेला टाउकाको मूल्य तोक्ने शेरबहादुरलाई टाउकाको मूल्य तोकिएका पुष्पकमल दाहालले काँध हालिरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजिकिदै गएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमले देउवा र ओली नजिकिएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषय उठाउँदै महाभियोगसम्मको डर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालनिकटस्थहरुबाट देखाइएपछि नयाँ घटनाक्रम विकास भएको छ । प्रचण्डनिकटस्थहरुले राजीनामालाई बढी जोड दिइरहेका छन् । तर, नेपाली काँग्रेसनिकटहरु राजीनामाको विपक्षमा उभिएका छन् । नेकपा एमालेनिकटहरु मौन जस्तै छन् । प्रधानन्यायाधीश जबरालाई संवैधानिक परिषदको नियुक्तिको मुद्दा अड्काएको भन्दै प्रचण्ड र माधव नेपालनिकटस्थहरुले दबाब बढाएका छन् । नियुक्तिमा देउवा र ओलीनिकटस्थहरुले स्थान पाएका थिए । त्यसकारण पनि देउवा र ओली नजिकिने वातावरण विकास भएको छ ।
अर्कोतर्फ, अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी पारित गर्ने पक्षमा देउवा उभिएका छन् । ओली पनि एमसीसीको पक्षमा भित्री रुपमा छन् । विगतमा उनले पारित गर्ने पक्षमा बोलेका थिए । प्रचण्ड र माधव नेपाल भने विपक्षमा छन् । प्रधानन्यायाधीश जबरा र एमसीसीको मुद्दाले देउवा र ओली नजिकिएका छन् । यो निकटताले कुनैपनि बेला सत्ता गठबन्धनमा ठूलै कम्पन जाने सम्भावना बढ्दै गएको छ ।