Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको आम्दानीभन्दा खर्च २ खर्ब ९० अर्बले बढी

काठमाडौं । सरकारको आम्दानी भन्दा खर्च २ खर्ब ९० अर्ब बढी भएको छ । राजस्व संकलनमा गिरावट आउँदा सरकारको आम्दानी र खर्चको दुरी बढ्दै गएको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार मंगलबार जेठ २३ गतेसम्म सरकारको खर्च ११ खर्ब ११ अर्ब पुगेको छ । सबैभन्दा धेरै चालु शिर्षकमा ८ खर्ब ५५ अर्ब खर्च भएको छ । विकास खर्चतर्फ १ खर्ब ४४ अर्ब खर्च हुदाँ वित्तिय व्यावस्थातर्फ १ खर्ब ४२ अर्ब खर्च भएको छ ।
सरकारको आम्दानीतर्फ राजस्व र गैरराजस्व शिर्षकमा ८ खर्ब ८ अर्ब संकलन भएको छ । अनुदान शिर्षकमा ४ अर्ब ८० करोड संकलन भएको छ । यस्तै अन्य शिर्षकमा ३८ अर्ब राजस्व संकलन भएको छ ।
सरकारले चालु वर्ष गतवर्ष जति राजस्व संकलन गर्न नसक्ने लगभग पक्का भएको छ । गतवर्ष सरकारले १० खर्ब ३५ अर्ब राजस्व संकलन गरेको थियो । चालु वर्ष गतवर्ष जति राजस्व संकलन गर्न २ खर्ब २६ अर्ब राजस्व संकलन गर्नुपर्ने हुन्छ । यसका लागि सरकारसँग अब ३९ दिनको समय अवधि मात्रै बाँकी रहेको छ । यस हिसाबले गतवर्ष जति राजस्व संकलन गर्नका लागि दैनिक ५ अर्ब ८१ करोड राजस्व संकलन गुर्नुपर्ने हुन्छ ।
हाल भन्सार विभागबाट दैनिक १ अर्बको हाराहारीमा राजस्व संकलन भैरहेको छ । आन्तरिक राजस्व विभागमा भने असारमा अग्रिम आयकरको ३० प्रतिशत रकम दाखिला गर्ने महिना हो । तर दुबै विभागले गरी २ खर्ब २६ अर्ब राजस्व उठाउन सक्ने अवस्था छैन ।