Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सवारी ट्रायलको नियम सुटुक्कै परिवर्तन

काठमाडौं । हाकिम र यातायात दलालहरुको कमाईको माध्यम बनेको सवारी लाइसेन्सको ट्रायल परीक्षामा लागू गरिने नियम बेला बेला परिवर्तन भइरहेका छन् । सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा आफ्नै सवारीबाट दिन नपाइने भएको छ । यातायात व्यवस्था विभागले साउनबाट लागु हुने गरी २०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा आफ्नो सवारीबाटै प्रयोगात्मक परीक्षा दिन सकिने व्यवस्था थियो । विभागले गत भदौ ८ गते कार्यविधि संशोधन गरेर सो व्यवस्था हटाएको छ । अब परीक्षार्थीले ट्रायल सेन्टरमा निजी कम्पनीले राखेका थोत्रा सवारी चलाउनुपर्ने छ ।

ती कम्पनीले तोकेको महँगो शुल्क पनि यथावत रहने भएको हो । विभागले नयाँ कार्यविधि जारी गरेपनि लाइसेन्स कार्यालयहरुले पुरानो आवेदकहरुलाई पुरानै कार्यविधिअनुसार परीक्षा लिइरहेका छन् । नयाँ आवेदकहरुको हकमा भने ७० अंक ल्याए पास हुने नयाँ व्यवस्था लागु गर्ने तयारी छ । आफ्नै सवारी लैजाने सकिने कार्यविधि आएपछि त्यसबापत पैसा असुलिरहेका कम्पनीहरुले संशोधन गर्न दबाव दिएका थिए । शुरुमा संशोधन गर्न नचाहेको यातायात व्यवस्था विभागले ‘लाइसेन्स कार्यालयहरुबाट पनि ट्रायलमा परीक्षार्थीको सवारीसाधन प्रयोग उपयुक्त नहुने सुझाव आएको’ नियम परिवर्तन गरेको हो । विभागका एक अधिकारीले चर्को दबावबाट नियम संशोधन भएको स्वीकार गरे । उनले भने, ‘व्यवसायीहरुले अनेक तर्क गरेर आफ्नो कुरा माथि पार्नुभयो ।’ अहिले ट्रायल सेन्टरहरुले एक परीक्षार्थीबाट सवारीको किसिमअनुसार २०० देखि ५०० रुपैयाँसम्म असुलिरहेका छन् । लाइसेन्स कार्यालयहरुले आफूले ट्रायल लिने सवारीको व्यवस्था नगरी ट्रायल सेन्टरमा निजी कम्पनीहरुलाई छाडिदिएका छन्, त्यो पनि बिना प्रतिस्पर्धा ।