Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साउदी अरबमा अनिश्चितकालीन कर्फ्यू

एजेन्सी । कोरोना भाइरस संक्रमणको जोखिम अझ बढेपछि लाखौं नेपाली श्रमिक कार्यरत साउदी अरबमा लगाइएको कर्फ्यूको अवधि अनिश्चितकालका लागि लम्बाइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीले गत मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्यूको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याइएको हो । कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि थप सावधानी अपनाउन आवश्यक भएकाले कर्फ्यू थप गरिएको हो ।
यस्तै साउदी सरकारले विभिन्न १३ क्षेत्रहरुबीचको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत राखेको रियादस्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासले नेपालीहरुलाई कर्फ्यूको समयलाई पूर्ण पालना गर्न अनुरोध गरेको छ । रियादस्थित नेपाली दूतावासले नेपालीहरुलाई आफू बसेको ठाउँबाट बाहिर ननिस्कने अपिल गरेको छ ।
सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन दूतावासले नेपालीहरुलाई अपिल गरेको हो । साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई कर्फ्यूको पूर्ण पालना गर्न गराउन निर्देशन दिएको छ । कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।
साउदी अरबमा ४ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४ जना नेपाली नागरिक पनि छन् ।


सम्बन्धित समाचार