Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सामूहिक आत्महत्याको रहस्य खुल्ने संकेत

काठमाडौं । झापामा एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीले आत्महत्या गरेको निष्कर्षतर्फ प्रहरी पुगेको छ। पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट र अन्य अनुसन्धानबाट पनि उनीहरुले आत्माहत्या नै गरेको देखिएको झापाका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकले बताए। साउन ८ गते कचनकवल गाउँपालिका ५ का पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १६ वर्षीया छोरी कल्पना गणेश एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
अघिल्लो दिन घरबाट हिडेका उनीहरु रातिसम्म पनि नफर्किएपछि परिवारले खोजतलास सुरु गरेका थिए। आइतबार बिहान उनीहरु झुण्डिएको अवस्थामा फेला परेका हुन्। तीमध्ये २ जना एउटै हाँगोमा र अर्की त्यही रुखको अर्को हाँगोमा झुण्डिएको फेला परेका थिए। ‘अहिलेसम्मको सबै अनुसन्धानबाट आत्महत्या नै हो भन्ने संकेत मिलेपछि हामी आत्माहत्याको कारण पत्ता लगाउने प्रयासमा छौं’, डीएसपी पाठकले भने, ‘मृतकको साथमा भेटिएका मोबाइल फरेन्सिक ल्याबमा पठाएका छौं त्यसबाट प्रमाणित होला।’
मोबाइलको रिपोर्ट र पोष्टमार्टमको विस्तृत रिपोर्ट आउन बाँकी छ। प्रहरीले ती किशोरीको सम्पर्कमा देखिएका व्यक्तिलाई पनि बोलाएर सोधपुछ गरिरहेको छ। तर ती बाट पनि आत्माहत्या होइन भन्ने प्रमाण मिलेको छैन। ‘आत्महत्या हो भन्नेमा त दुईमत छैन। तर कारण केही खुल्छ कि भन्नेमा अनुसन्धान गरिरहेका छौं। अहिलेसम्मको हाम्रो कुनै पनि तथ्यले हत्या संकेत नै गर्दैन। तर किन गरे यसरी तीन जनाले आत्महत्या भन्नेचाहिँ रहस्यमय भो’, पाठकले भने।
फरक फरक परिवारका तीन किशोरी ७ गते शनिबार घुमफिर गर्न भन्दै निस्किएका थिए। चिया बगानमा काम गर्ने उनीहरु चियाबगानकै रुखमा भोलिपल्ट मृत फेला परेका थिए। अरु कतैबाट पनि आत्महत्या गर्नेसम्मको कारण खुल्न नसकेपछि प्रहरीले आर्थिक कारणतर्फ शंका गरेको छ।
अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘प्रमाणबिना यहि कारण हो भन्न त सकिने अवस्था भइसकेको छैन। तर आर्थिक कारण हो कि भन्ने शंका गरेका छौं, त्यसलाई पनि पुष्टि गर्न सकेका छैनौं।’ प्रहरी यी सबै अनुसन्धानको निचोडमा पुग्न फरेन्सिक ल्याबको रिपोर्ट पर्खिरहेको छ। स्थानीयले भने घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन्। वडासदस्य सन्तोष कुमार गणेशले भने, ‘निष्पक्ष अनुसन्धानको माग गर्दै हामीले पत्र दिएका छौं। उहाँहरुले पनि अनुसन्धान भइरहेको र मोवाइलबाट धेरै कुरा खुल्छ भन्नुभएको छ। तर तीनजनाले आत्माहत्या गरेको कुरा कसैले पत्याएका छैनन्। यदि हो नै भने पनि किन गरे भन्ने कुरा त खुलाउनुपर्‍यो नि।’
प्रहरीकै लागि पनि यो घटना अनौठो छ। यसअघि यस्ता घटना नभएको बताउँछन् डीएसपी पाठक। तीनजनाको समस्या एउटै खालको भए मात्रै सामूहिक आत्माहत्या गर्न सहमत भएको हुनुपर्ने प्रहरीको शंका छ। प्रहरीको त्यो अनुमानमा आर्थिक कारण बाहेक अरु केही पनि मिल्दैन। प्रहरीले घटनाका बारेमा केहीलाई बोलाएर सोधपुछ गरेको छ। अझै केहीसँग सोधपुछको क्रममै रहेको डीएसपी पाठक बताउँछन्।
यस्तै मृतक किशोरीहरुले आत्माहत्या गर्नु पहिले घटनास्थलबाट भिडियो कल गरेको सूचना प्रहरीले पाएको छ। डीएसपी पाठकले पनि यस्तो सुनेको बताउँदै त्यसलाई पनि पुष्टि गर्न बाँकी रहेको बताए। ‘यस्तो कुरा हामीलाई पनि आएको छ। तर पुष्टि भइसकेको छैन’, पाठकले भने, ‘अब केही दिनमा ल्याबको रिपोर्ट आउला। त्यसपछि यी कुरा पनि पुष्टि हुन्छन्।’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने मर्नुअघि यही रुखमा झुण्डिएर मर्न लागेको भनेर एक जनालाई कल गरेको सूचना प्रहरीले पाएको छ। ‘उनीहरुले यही रुखमा झुण्डिएर मर्ने हो भनेका रहेछन्,थप सोधपुछ हुँदै छ’, उनले भने।