Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुटुक्क सीमा निरीक्षणमा पुगे गृहमन्त्री सुधन गुरुङ, बारा–पर्सा प्रशासन नै बेखबर

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले बारा र पर्साको सीमावर्ती क्षेत्रमा गोप्य रूपमा स्थलगत निरीक्षण गरेको खुलेको छ। तर, उनको भ्रमणबारे गृहमन्त्रीको सचिवालय, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायले कुनै औपचारिक जानकारी सार्वजनिक गरेका छैनन्।

जानकारीअनुसार चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी भएपछि शुक्रबार राति गृहमन्त्री गुरुङ माडी–ठोरी नाका हुँदै पर्साको ग्रामीण सीमावर्ती क्षेत्रमा पुगेका थिए। उनले शनिबार बिहान बारा र पर्साका विभिन्न सीमा बस्तीको निरीक्षण गरी फर्किएको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा गृहमन्त्री गुरुङले वीरगञ्ज आसपासका सीमावर्ती क्षेत्र जानकीटोला, मटिअर्वा र अलौलगायत स्थानको स्थलगत निरीक्षण गरेको देखिन्छ। निरीक्षणका क्रममा उनले स्थानीय ज्येष्ठ नागरिक तथा बासिन्दासँग सीमा सुरक्षा, दैनिक जनजीवन र स्थानीय समस्याबारे कुराकानीसमेत गरेका थिए।

भिडियोमा गृहमन्त्री मास्क, टोपी, हाफ टिसर्ट र पाइन्ट लगाएको सामान्य भेषमा देखिएका छन्। उनी औपचारिक सरकारी टोली वा सुरक्षा तामझामबिनै सीमाक्षेत्रमा पुगेको देखिएपछि भ्रमणलाई ‘सुटुक्क निरीक्षण’का रूपमा हेरिएको छ।

यता, पर्सा र बाराका प्रहरी प्रशासनले भने गृहमन्त्रीको उक्त भ्रमणबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन्। पर्सा प्रहरी स्रोतका अनुसार गृहमन्त्रीको सीमा निरीक्षणबारे जिल्ला सुरक्षा निकायलाई पूर्वसूचना दिइएको थिएन।

गृहमन्त्रीको सचिवालयले पनि भ्रमणको उद्देश्य, कार्यक्रम वा निरीक्षणबाट प्राप्त निष्कर्षबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। त्यसैले उच्च सुरक्षा संवेदनशील मानिने सीमाक्षेत्रमा गृहमन्त्रीले गोप्य रूपमा गरेको निरीक्षणको उद्देश्यलाई लिएर विभिन्न अनुमान र चासो उत्पन्न भएको छ।