Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । यहाँ कानुन निर्धालाई मात्रै लाग्छ । ठूला भ्रष्टाचारका काण्डहरुमा सानातिना कर्मचारी समातिन्छन् तिनका योजनाकार कहिल्यै समातिँदैनन् । विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको सुन तस्करी प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा उन्मुक्ति दिने गरी प्रहरीले राय प्रतिवेदन तयार पारेको छ । महरामाथिको अनुसन्धान रोक्न सुरुमै प्रधानमन्त्री पुष्पकमल दाहालबाट दबाब परे पनि बाध्य भएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई अनुसन्धानको दायरामा भने ल्याएको थियो । तर अनुसन्धान टुंग्याउँदा उनलाई चोख्याएर प्रतिवेदन तयार पारिएको हो । जबकि सीआईबीले यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख छ । तर यस पटक प्रहरीले महराका छोरा राहुललाई मात्र संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा चलाउन रायसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको हो । राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत भदौ १३ मा पक्राउ गरेको थियो । पूर्वसभामुख महरासँग गत असोज १५ मा सीआईबीले कार्यालयमा बोलाएर बयान कागज गराएको थियो । भेपमा लुकाएर सुन ल्याउने गिरोहका नाइके दावाजिनसँग निकट पूर्वसभामुख महरालाई भने तथ्य र प्रमाणले पुष्टि नगरेको भन्दै सीआईबीले उन्मुक्ति दिएको छ । पूर्वसभामुख महरासँग सीआईबीले सोधपुछ मात्रै गरेर छाडेको हो । सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार भेप प्रकरणमा अहिलेको अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणबमोजिम ४ जनालाई प्रतिवादी र अरू ६ जना चिनियाँलाई पछि पक्राउ परेका बखत हुने गरी मुद्दाको अभियोजन गर्न रायसहित प्रतिवेदन बुझाइएको छ । भेप प्रकरणमा जोडिएका अरू आरोपित हाल फरार रहेको र उनीहरू पक्राउ परेका बखत थप खुलेमा त्यहीअनुसार हुने गरी हाललाई ४ जनामाथि मात्र मुद्दा चलाउनुपर्ने सीआईबीको राय छ । अहिलेको अनुसन्धानमा पूर्वसभामुख महराको तस्करीमा संलग्नता नभेटिएकाले तथ्य र प्रमाणले खुलेकालाई मात्रै प्रतिवादी बनाइएको आचार्यको दाबी छ । जबकि पूर्वसभामुख महराले दुबईबाट ली हासङले सुटकेसभित्र ल्याएका भेप भन्सारमा जफत भएपछि दावाजिनले छुटाउन आग्रह गरेको स्वीकार गरिसकेका छन् । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले सीआईबीबाट शुक्रबार रायसहितको प्रतिवेदन आएको बताए । प्रतिवेदनमा महरालाई बयान कागजका रूपमा उल्लेख गरिएको र प्रतिवादीको सूचीमा नराखिएको बताए । सीआईबीले भेप प्रकरणमा पूर्वसभामुख महराका छोरा राहुलसहित तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ सुन तस्करका सहयोगी लोकेन्द्र पौडेल र फरार रहेका निमा गुरुङविरुद्ध ९ केजी ११.५२४ ग्राम सुन तस्करी अभियोगमा ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा चलाउन राय दिएको हो । राहुललाई चिनियाँ तस्करको सहयोगीका रूपमा प्रतिवादी बनाउन भनिएको छ । भेपको सुनमा प्रतिवादी बनाइएका दावा छिरिङ ६१ केजी सुन र त्यसको अनुसन्धानबाट खुलेका थप तस्करी प्रकरणमा हाल पुर्पक्षका क्रममा कारागारमै छन् ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल