Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोसी नदीमा सुमो खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। चार जना घाइते भएका छन्।
आइतबार बिहान काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गबाट सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्मा रहेका छन्।
लफ्याङका स्थानीय जनक राईका अनुसार युपना र दिव्या काठमाडौंमा बसेर अध्ययनसँगै सामान्य रोजगारी गर्दै आएका थिए। स्वस्तिका भने काठमाडौंमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गरिरहेकी थिइन्।
आइतबार बिहान करिब २:३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खसेको थियो। तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा नदीमा खसेका तीन जना अझै फेला परेका छैनन्। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता हुनेमा लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई छन्।
दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा र चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा घाइते भएका छन्।
प्रहरीका अनुसार चालक आशिष बेहोस अवस्थामा छन् भने सम्झनाको अवस्था गम्भीर छ। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
घाइते शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिएका छन्।
प्रहरीका अनुसार सुमो शनिबार राति करिब ११ बजे काठमाडौंबाट प्रस्थान गरेको थियो। चालकसहित १० जना सवार रहेको उक्त सुमो आइतबार बिहान दुर्घटनामा परेको हो।
घटनास्थल पुगेका प्रहरी अधिकारीले लामो समय सवारी चलाउँदा चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्। दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।
२०८३ कार्तिक ३
ताजा नेपाल
२०८३ कार्तिक ३
ताजा नेपाल