Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सुनसरीको देवानगञ्ज क्षेत्रमा दुई समूहबीच भएको झडपपछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन्।
गएराति देवानगञ्जमा भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको तथा २१ जना घाइते भएपछि त्यस क्षेत्रमा सुरक्षा अवस्था तनावग्रस्त बनेको प्रशासनले जनाएको छ।
कर्फ्यु आदेश लागू गरिएका क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
प्रशासनका अनुसार हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कसनागञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र तथा देवानगञ्ज बजार क्षेत्रका तोकिएका चार किल्लाभित्र कर्फ्यु लागू गरिएको हो।
हरिनगरा बजार क्षेत्रको पूर्वमा नूनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडलाई सीमा तोकिएको छ। भुटाहा बजार क्षेत्रको पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालय रहेको छ।
यस्तै, कसनागञ्ज बजार क्षेत्रको पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रलाई कर्फ्युको सीमा निर्धारण गरिएको छ।
घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल तथा देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको प्रशासनले जनाएको छ।
स्थानीय प्रशासनले कर्फ्यु अवधिमा सुरक्षा निकायको निर्देशन पालना गर्न तथा अनावश्यक रूपमा घरबाहिर ननिस्कन सर्वसाधारणसँग आग्रह गरेको छ।
२०८३ श्रावण ११
ताजा नेपाल
२०८३ श्रावण ११
ताजा नेपाल
२०८३ श्रावण ११
ताजा नेपाल