Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुरक्षा फौज पनि कोरोनाले अक्रान्त

काठमाडौं । कोरोनाको महामारीमा सरकारको प्रतिनिधिको रुपमा कोहि देखिएको छ भने अस्पतालका डाक्टर, नर्स र सुरक्षा कर्मीहरु नै देखिएका छन् । नेपाली सेनाले कोरोनाबाट मृत्यु भएकाहरुको लास व्यवस्थापन गरिरहेको छ भने लकडाउनको अवधिमा जथाभावि हिड्नेहरुलाई नियन्त्रणमा लिने, सम्झाउने, होल्डिङमा राख्ने काम, शसस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक महाशाखाले खटाएका ट्राफिकहरु नै प्रतक्ष देखिएका छन् । आफै सतर्क हुनु पर्ने यो महामारी नियन्त्रणका निम्ति जनतालाई भ्याक्सिन दिन नसकेको सरकारका मन्त्रीहरु भने कमिशनको चक्करमा रमाईरहेका छन् । तर राज्यका सुरक्षाकर्मिहरु आफ्नै समूहका सहकर्मि संक्रमित भएर पनि सडकमा खटिरहेका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि बागमती प्रदेशका १० जिल्लाका २९ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । काभ्रेका ९ जना, सिन्धुपाल्चोकका एसपीसहित ७ जना, मकवानपुरका ४ जना, रसुवाका ३ जना, चितवनका एसपीसहित ३ जना, धादिङका २ जना र नुवाकोटका एकजना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा फिल्डमा खटिएका प्रहरी जवान रहेका छन् ।

सिन्धुली, रामेछाप र दोलखामा कार्यरत प्रहरी कर्मचारीमा भने हालसम्म संक्रमण पुष्टि नभएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी बसन्तकुमार लामाले जानकारी दिएका छन् । त्यस्तै प्रदेशमा कार्यरत कुल ५ हजार १७९ जना प्रहरी कर्मचारीमध्ये ४ हजार २१८ जना प्रहरीले कोरोनाविरुद्धको खोप लगाएको डीआईजी लामाले जानकारी दिएका हुन् । अन्य ९६१ जना प्रहरी कर्मचारीले विविध कारणले खोप नलगाएको लामाले बताएका छन् । बागमती प्रदेशमा पहिलो चरणमा ३९१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो भने एकजना प्रहरीको मृत्यु भएको थियो । कोरोनाभाइरसको पहिलो चरणको संक्रमणले सुरक्षा निकायलाई थिलथिलो बनाएको थियो । कोभिड–१९ संक्रमणको दोस्रो महामारी शुरु भएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा फेरी कोरोना संक्रमण फैलिएको छ ।

सशस्त्र प्रहरी बलका १६५ जना सुरक्षाकर्मी संक्रमणको शिकार भएका छन् । काठमाडौं उपत्यकामा संक्रमण पुष्टि भएका २२ जनालाई बलम्बुस्थित एपीएफ अस्पतालको आइसोलेसनमा राखिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले ताजानेपाललाई बताएका छन् । नेपाली सेनाका २२५ जना सुरक्षाकर्मी आइसोलेसनमा छन् । सैनिक प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसार १३३ जना सैन्य कर्मचारी अस्पतालमा छन् । अरु चाहिँ सेनाले तयार गरेको आन्तरिक आइसोलेसन र होम आइसोलेसनमा बसेर कोरोनासँग लडिरहेका छन् । ताजानेपालमा प्राप्त तथ्यांक अनुसार नेपाल प्रहरीमा ४८४ जना सुरक्षाकर्मी संक्रमणको शिकार भएका छन् । तर, मनोवल खस्किने भन्दै नेपाल प्रहरीले संक्रमितको विवरण सार्वजनिक गरेको छैन । प्रहरीमा व्यापक संक्रमण छैन, ठिक ठिकै छ’ प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले ताजानेपालसँग भने, ‘प्राविधिक कारणले संक्रमितको तथ्यांक दिन सकिदैन । प्रहरीमा जिल्लादेखि प्रधान कार्यालयसम्म कोरोना फैलिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं मातहतमा ३० जनाभन्दा बढी प्रहरी संक्रमित भएका छन् । प्रहरी प्रधान कार्यालयमा पनि उल्लेख्य संख्यामा संक्रमित भएका छन् । पहिलो चरणको संक्रमण शुरु हुँदा पनि प्रधान कार्यालयमा सवारी चालक शाखा नै चर्चामा थियो । वैशाख ८ मा कोरोना पोजेटिभ देखिएका महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख एआईजी हरिबहादुर पालले कोरोनालाई जितेका छन् । होम आइसोलेसनमा बसेर कोरोनालाई जितेका पाल नियमित काममा फर्किएका छन् । कोरोना संक्रमण नियन्त्रणका गर्ने नेतृत्वदायी भुमिकामा रहेका गृह मन्त्रालय मातहतका ललितपुरका प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी सम्म संक्रमणको शिकार भएका छन् । संक्रमण पुष्टि भएपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला आइसोलेशनमा छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत दुई डीएसपी राजकुमार केसी र नरेन्द्र चन्द पनि कोरोना पोजेटिभ भएपछि आइसोलेसनमा छन् । चितवनका एसपी ओमप्रसाद अधिकारीलाई गत बैशाख १४ गते संक्रमण पुष्टि भएलगत्तै कार्यालयको आवास गृहमा नै आइसोलेट भएर बस्नुपरेको थियो । उनीसँगै चितवनमा अन्य दुई जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको हो । यस्तै सिन्धुपाल्चोकका एसपी राजन अधिकारीलाई पनि गत बैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उनी आवास गृहमा नै आइसोलेट भएर बसे । र, आइसोलेसनबाटै जिल्लाको कमाण्ड चलाइरहेका छन् ।


सम्बन्धित समाचार