Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको व्यवसायसँगै खुद नाफामा कमी आएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ७२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९ करोड ९२ लाख रुपैयाँ अर्थात ४०।६९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको व्यवसाय खुम्चिएसँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै खुद नाफा घटेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६१ करोड ६४ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७।२८ प्रतिशत घटेर १ अर्ब १५ करोड २१ लाख रुपैयाँमा समेटिएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ४०।६९ घटेर १ अर्ब ४ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ।
पुस मसान्तसम्ममा ८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा १ अर्ब २९ करोड २४ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ५ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ थियो। खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३० रुपैयाँ ६३ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १६ रुपैयाँ ९८ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ४७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.४१ गुणा रहेको छ।
पछिल्लो ६ महिनामा बैंकको निक्षेप ९५ अर्ब २ करोड रुपैयाँबाट घटेर ८३ अर्ब ५० करोड रुपैयाँमा झरेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी ५३ अर्ब ९२ करोड रुपैयाँबाट घटेर ५३ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ। कर्जा लगानी घटेको यस बैंकको निष्क्रिय कर्जा भने बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.१७ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य बढेर १.५४ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा बैंकको आधार दर ७।३३ प्रतिशतबाट ६.०७ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.९३ प्रतिशतबाट ४.२१ प्रतिशतमा झरेको छ।