Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्वास्थ्य चुनौती पार गर्दै रमा आलेमगर फेरि बागमती सरकारमा, कृषि मन्त्रालयको जिम्मेवारी

काठमाडौं । लामो समय स्वास्थ्य उपचारमा बिताएकी रमा आलेमगर पुनः बागमती प्रदेश सरकारमा फर्किएकी छन्। शुक्रबार कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री नियुक्त भएकी आलेमगरले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

आलेमगरका लागि मन्त्रीको जिम्मेवारी भने नयाँ होइन। यसअघि उनी शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री बनेकी थिइन्। १९ चैत २०८० मा बिना विभागीय मन्त्री नियुक्त भएकी उनले ४३ दिनपछि युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएकी थिइन्। पहिलो कार्यकालमा छोटो समय मन्त्रालय सम्हालेकी आलेमगर दोस्रोपटक प्रदेश सरकारमा मन्त्री बनेकी हुन्।

तत्कालीन नेकपा एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य निर्वाचित भएकी आलेमगर पार्टी एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएकी हुन्। यसपटक भने उनी सोही पार्टीबाट बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा सहभागी भएकी हुन्।

दुईपटक प्रत्यक्ष निर्वाचित

आलेमगरको संसदीय यात्रा २०७४ सालबाट सुरु भएको हो। उनले काठमाडौं क्षेत्र नम्बर १० को प्रदेशसभा क्षेत्रबाट तत्कालीन नेकपा एमालेका तर्फबाट प्रत्यक्ष निर्वाचन जितेकी थिइन्।

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा रहेकी उनले २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुँदै संसदीय यात्रा निरन्तरता दिइन्। उक्त निर्वाचनमा उनले नेकपा एमालेका रामशरण आलेमगरलाई पराजित गर्दै ५ हजार ११८ मत प्राप्त गरेकी थिइन्।

प्रदेशसभामा रहँदा उनले संसदीय समितिको नेतृत्वसमेत सम्हालिन्। अघिल्लो कार्यकालमा उनी बागमती प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिको सभापति बनेकी थिइन्। करिब पाँच वर्ष संसदीय समितिमा रहेर काम गरेपछि दोस्रो कार्यकालमा उनले पूर्णरूपमा मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएकी हुन्।

कलेजो प्रत्यारोपणपछि राजनीतिमा पुनरागमन

मन्त्री बन्ने राजनीतिक यात्राकै क्रममा आलेमगरले गम्भीर स्वास्थ्य चुनौतीसमेत सामना गर्नुपर्‍यो। कलेजोमा समस्या देखिएपछि उनी करिब डेढ वर्ष उपचारमा रहिन्। उपचारकै क्रममा भारत पुगेर उनको कलेजो प्रत्यारोपण गरिएको थियो।

लामो उपचारपछि राजनीतिक गतिविधिमा फर्किएकी आलेमगरका लागि पुनः मन्त्रीको जिम्मेवारी सम्हाल्नु सार्वजनिक भूमिकामा फर्किने महत्वपूर्ण अवसर बनेको छ।

डेढ वर्ष उपचारमा रहँदा आफूले पुनर्जीवनको अनुभूति गरेको बताउँदै उनले स्वास्थ्य चुनौतीपछि पार्टीले विश्वास गरेर जिम्मेवारी दिनु आफ्नो लागि सौभाग्य भएको बताएकी छन्। सक्रिय राजनीतिमा फर्किएलगत्तै पुनः मन्त्रीको जिम्मेवारी पाउनु महत्वपूर्ण अवसर भएको उनको भनाइ छ।

विद्यार्थी राजनीतिबाट मन्त्रीसम्म

काठमाडौंको तत्कालीन थानकोट गाविसमा ३ माघ २०२८ मा जन्मिएकी आलेमगर विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिइन्। बुवा शिवबहादुर आलेमगर र आमा स्वर्गीय सरु आलेमगरकी चौथो सन्तानका रूपमा जन्मिएकी उनले विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी हुन्।

अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट अघि बढेकी उनी २०५० सालमा नेकपा एमालेको संगठित सदस्य बनेकी थिइन्। त्यसपछि थानकोट गाविसको पार्टी कमिटी, काठमाडौं जिल्ला कमिटी तथा गाविसको सर्वदलीय समितिलगायतका जिम्मेवारीमा रहेर उनले काम गरिन्।

स्थानीय तहको पार्टी राजनीतिबाट सुरु भएको उनको यात्रा प्रदेशसभा सदस्य हुँदै प्रदेश सरकारको मन्त्री पदसम्म आइपुगेको हो। २०७४ र २०७९ मा एउटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएकी आलेमगरले प्रदेशसभामा संसदीय जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन्।

अहिले भने उनको जिम्मेवारी थप फराकिलो बनेको छ। कृषि, पशुपन्छी, वन तथा वातावरणजस्ता प्रदेशको उत्पादन, प्राकृतिक स्रोत र वातावरणसँग प्रत्यक्ष जोडिएका क्षेत्र हेर्ने मन्त्रालयको नेतृत्व गर्दै आलेमगर फेरि बागमती प्रदेश सरकारमा फर्किएकी छन्।