Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

हनी ट्र्यापकी मास्टरमाइन्ड भइन् फरार

काठमाडौं । ‘हनी ट्र्याप’ समूहसँग मिलेर एक व्यवसायीसँग रकम असुलेको घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक बिनु शाही नै संलग्न देखिएपछि ललितपुर प्रहरीले अदालतबाट पक्राउको अनुमति लियो। अदालतबाट उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले खोजी सुरु गरे लगत्तै शाही फरार भइन्। भैँसेपाटीमा रहेको प्रभागको प्रमुख रहेकी शाहीले चार जनासँग मिलेर एक घरजग्गा कारोबारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख रकम असुलेको खुलेपछि उनलाई प्रभागबाट हटाएर उनको संलग्नताबारे अनुसन्धान गर्न समिति गठन गरेको थियो। समितिले सो घटनामा शाही प्रत्यक्ष संलग्न रहेको प्रतिवेदन दिएपछि सो घटनामा उनलाई पनि प्रतिवादी बनाउन प्रहरीले जिल्ला अदालत ललितपुरबाट पक्राउ अनुमति मागेको थियो। तर प्रहरीले पक्राउ गर्नु अगाडि नै उनी फरार भइसकेकी थिइन्। प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा शाहीको सवारी चालक सहायक हवल्दार महेन्द्र हमाल सहित हनी ट्र्यापमा संलग्न देखिएका तीन जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले हनिट्रयाप बनेर व्यवसायीलाई भेट्न बोलाउने सुष्मा बिक, पैसा असुल्ने योजना बनाउने इटहरीका ताज मूल इस्लाम, भिमादेवी थापालाई पक्राउ गरेको थियो। सोही घटनामा संलग्न देखिएका इटहरीका दर्शन पोखरेल भने फरार छन्।
सुष्मा विकले मोरङका एक व्यवसायीलाई भेट्न बोलाइन्। ती व्यवसायी युवतीसँग भेट्न पाउने भन्दै लोभिए र दुबैजना भेडेटार घुम्न गए। व्यवसायीसँग भेडेटार घुम्न गएको तस्बिरहरू लिइन् उनले। अनि सुष्माले ताज र दर्शनलाई व्यवसायीबारे जानकारी दिइन्। ताज हनी ट्र्यापमा पारेर पैसा असुल्न माहिर थिए। अनि उनले ती व्यवसायीबाट कसरी पैसा असुल्ने भन्ने योजना बनाउन थाले। उनी विरुद्ध प्रहरीमा उजुरी दिने अनि धम्क्याएर पैसा असुल्ने उनीहरूको रणनीति थियो। त्यसका लागि प्रहरीको सहयोग अनिवार्य थियो। प्रारम्भमा उनीहरूले इटहरी प्रहरीलाई उपयोग गरेर रकम असुल्ने प्रयास गरेका थिए। तर त्यताको प्रहरीले नक्कली घटना भएको चाल पायो र मानेनन्। प्रहरीभित्रकै सहयोगीको सहयोगमा उनीहरू प्रहरी निरीक्षक शाहीको सम्पर्कमा पुगे। शाही राजी भइन्। सुष्मालाई प्रारम्भमा कुटपिट भएको उजुरी दिन लगाएर ती व्यवसायीलाई भैँसेपाटी प्रभागमा बोलाइयो। व्यवसायी भैँसेपाटी आएपछि पक्राउ गरियो। प्रहरी निरीक्षक शाहीले महिलालाई कुटपिट गरेको र बलात्कार गरेको घटनामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने भन्दै थर्काइन्। उनले पीडितले नमानेमा अनुसन्धान अगाडि बढ्ने बताएपछि ती व्यवसायी नक्कली पीडित सुष्मासँग छलफल गर्न थाले। उजुरी नदिने हो भने आफूलाई ६० लाख चाहिने माग गरिन्। मोलमोलाइ प्रहरी निरीक्षककै कोठामा भएको प्रहरीको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। ६० लाख रुपैयाँबाट सुरु भएको बार्गेनिङ ३० लाखमा आएर सहमति भयो। व्यवसायीले २० लाख रुपैयाँ ताजकी साथी भिमादेवीको खातामा पठाइदिए, १० लाख रुपैयाँको चेक दिए। पछि ती व्यवसायी प्रहरीमा गएपछि घटनाको पोल खुल्यो। अनुसन्धानमा ताज हनी ट्र्यापका मास्टरमाइन्ड रहेको खुल्यो। उनले विभिन्न व्यवसायी खोज्ने, युवतीलाई उनीहरू निकट बनाएर घुम्न पठाउने अनि बलात्कारको जाहेरी दिने भन्दै धम्क्याएर रकम असुल्ने गरेका थिए। उनले यसरी रकम असुलेका दुई घटना समेत प्रहरीमा पुगेको छ। अहिले उनी प्रहरी हिरासतमै छन्।