Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१२ वर्षीया छोरी करणी गरेको अभियोगमा बुबा पक्राउ

सुन्दरहरैंचा मोरङ । मोरङको लेटाङ नगरपालिकामा मानव सभ्यता र पुरुष जातिलाई नै कलंकित तुल्याउने एक दर्दनाक तथा अमानवीय घटना सार्वजनिक भएको छ। आफ्नै १२ वर्षीया छोरीलाई विगत ६ वर्षदेखि निरन्तर रूपमा जबरजस्ती करणी गर्दै आएको अभियोगमा एक बुबालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पीडित बालिका मात्र ६ वर्षको नाबालक उमेर छँदादेखि नै आफ्नै जन्मदिने बुबाबाट चरम यौनिक शोषण र हिंसाको सिकार भइरहेकी थिइन्। बालिका हाल १२ वर्ष ४ महिनाकी पुगेकी छन्। पछिल्लो समय बालिकाले आफूमाथि हुँदै आएको जघन्य अपराध र पीडा जानकारी गराएपछि घटना बाहिर आएको हो।

घटनाको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङको विशेष टोली सक्रिय भएको थियो। प्रहरी टोलीले नियन्त्रणमा लिनुपर्ने आरोपी बुबालाई मंगलबार नै पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सागर साहले जानकारी दिए। “यो अत्यन्तै संवेदनशील र जघन्य प्रकृतिको अपराध हो। घटना थाहा पाउनासाथ हामीले आरोपीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौँ, प्रहरी निरीक्षक साहले भने।

प्रहरीले घटनाको सिकार भएकी बालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइनुका साथै उनलाई सुरक्षित स्थानमा राखेर काउन्सिलिङ परामर्श समेत दिने कार्य भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय लेटाङले पक्राउ परेका बुबाविरुद्ध हाडनाता करणी’ तथा ‘जबरजस्ती करणी सम्बन्धी अनुसन्धान अघि बढाएको छ।

संरक्षक र भरोसाको केन्द्र मानिने बुबाबाटै नाबालिका छोरी वर्षौंदेखि बलात्कृत हुनुपर्ने यस्तो क्रूर र अमानवीय घटना सार्वजनिक भएपछि स्थानीय समाज स्तब्ध र आक्रोशित बनेको छ। स्थानीय बासिन्दा तथा नागरिक समाजले दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।