Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१७ डीआईजीले फुली लगाए

काठमडाौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। एसएसपीबाट डीआईजीमा बढुवा भएका डीआईजीहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। नेपाल सरकारको निर्णयले २०७९ असार १७ गते उनीहरुलाई बढुवा गरेको थियो। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डीआईजीमा बढुवा भएका थिए।
महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकहरूलाई बधाई दिँदै भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्न निर्देशन दिए। पदोन्नतिपछिका दिनहरू अझ चुनौतीपूर्ण रहेकोले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। प्रहरी महानिरीक्षक सिंहले संगठनका सीमित पदमा मात्र पदोन्नति गर्नुपर्ने बाध्यता भएको चर्चा गर्दै पदोन्नतिमा छुटेका प्रहरी अधिकृतहरूले अझ व्यावसायिकताका साथ दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्ने बताए।
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक वसन्तबहादुर कुँवरले कर्मको जीवन दिने आमारूपी नेपाल प्रहरी संगठनप्रति सदैव इमानदार, बफादार र पेसागत व्यावसायिक निष्ठा कायम राखी जुनसुकै किसिमको गैरव्यावसायिक आचरण, व्यवहार, हाउभाउ र जीवनशैलीप्रति शून्य सहनशीलता अपनाउँदै सांगठनिक लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे।