Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१८ वर्षमुनिका सदस्यबारे रास्वपाको स्पष्टीकरण, ‘प्राविधिक त्रुटिका कारण भ्रम सिर्जना भयो’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका सदस्य रहेको भन्ने विषयमा स्पष्टीकरण दिँदै पार्टीमा नाबालक सदस्य नरहेको जनाएको छ।

पार्टीले बुधबार विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै महाधिवेशनमा प्रस्तुत तथ्याङ्क डिजिटल सदस्यता प्रणालीमा रहेका प्रारम्भिक आवेदनहरूको समष्टिगत विवरण मात्र भएको स्पष्ट पारेको हो।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा नागरिकता वा अन्य आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भएपछि मात्रै सदस्यता स्वीकृत हुने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ। प्रारम्भिक आवेदनलाई आधिकारिक सदस्यताको अभिलेखका रूपमा बुझिनु गलत भएको पार्टीको भनाइ छ।

रास्वपाका अनुसार आवेदन फाराम भर्ने क्रममा वि.सं. र ई.सं. छनोटमा भएको त्रुटि, जन्ममिति प्रविष्ट गर्दा भएका टाइपिङ गल्ती तथा कतिपय आवेदकले जन्ममितिको सट्टा आवेदन दिएको मिति नै उल्लेख गरेका कारण प्रणालीमा उमेर कम देखिएको हो।

पार्टीले हालसम्म डिजिटल प्रणालीमा ५ लाख २३ हजार ४६५ आवेदन दर्ता भएको जानकारी दिएको छ। तीमध्ये ३ लाख ९० हजार ११२ जनाको मात्रै आधिकारिक कागजातका आधारमा प्रमाणीकरण सम्पन्न भएको र बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा रहेको जनाएको छ।

रास्वपाले आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन प्रणालीमा १८ वर्षभन्दा कम उमेर देखिए स्वतः आवेदन रोक्ने व्यवस्था गर्ने, प्रमाणीकरण भएका अभिलेखको पुनः परीक्षण गर्ने तथा १८ वर्षमुनिका व्यक्ति भेटिए सदस्यता तत्काल खारेज गर्ने प्रतिबद्धता जनाएको छ। साथै वि.सं. र ई.सं. सम्बन्धी अन्योल हटाउन डिजिटल प्रणालीमा आवश्यक प्राविधिक सुधार गरिने पनि पार्टीले जनाएको छ।

प्रमाणीकरण नभएको प्रारम्भिक तथ्याङ्क महाधिवेशनको प्रतिवेदनमा समावेश हुँदा भ्रम सिर्जना भएको स्वीकार गर्दै रास्वपाले त्यसप्रति दुःख व्यक्त गरेको छ। पार्टीले प्रचलित कानुन तथा बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिकलाई मात्रै सदस्यता प्रदान गर्ने व्यवस्थाप्रति आफू प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ।