Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२१ तले भ्यूटावरका ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौं। पुरानो बसपार्कमा केही वर्षदेखि २१ तले भ्यूटावर बन्ने क्रममा छ। बन्न अझै कति समय लाग्ने हो पत्तो छैन। तर भ्यूटावर बनाउने ठेक्का पाएका एक ठेकेदार भने पछिल्लो पाँच वर्षमा पटक,पटक पक्राउ पर्दै आएका छन्।

पाँच वर्षको अवधिमा उनी चारपटक समातिएका छन्। पाँच वर्षको अवधिमा वर्षमा एक पटक उनी हिरासत बस्न पुगिरहेका छन्।

ठेकेदार हुन् मनोज भेटवाल। उनलाई प्रहरी हिरासतसम्म पुर्‍याउने प्रकरणमा बैंक घोटालादेखि चेक बाउन्ससम्मका छन्। त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पनि उनलाई पछ्याउन छोडेको छैन। उनी अख्तियारको टोलीबाट पनि समातिएका छन्।

२०७५ वैशाखमा भेटवाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बैंकका कर्मचारीको मिलेमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ठगी गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो। कलंकीलगायतका आकाशे पुल निर्माणका लागि भन्दै इन्नोभेटिभ कन्सेप्ट नेपालका नामबाट ऋण लिएको देखिएको थियो।

ब्युरोले अहिलेसम्म एपेक्स बैक काण्डमा २० जनालाई भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। भेटवाल भने पक्राउ परेका ऋणी हुन्। ब्युरोले ऋणीलाई पनि अनुसन्धान गरेको थियो। मिलेमतोमा सार्वजनिक संस्थाको सम्पत्तिको बदनियत तथा लापरबाही गरी हिनामिना गरेको अभियोगमा भेटवाल पनि पक्राउ परेका थिए।

सीआइबीबाट केही समयमा उनी छुटे। त्यसपछि पनि उनको हिरासत पुग्न यात्रा ब्रेक भने लागेन।

२०७६ फागुनको तेस्रो साता फेरी उनी पक्राउ परे। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो। प्रहरीले उच्च अदालत पाटनबाट अनुमति लिएर नियन्त्रणमा लिएको थियो।

केही साताको हिरासत बसाइपछि उनी छुटे। तर फेरि त्यसको एक वर्षमा समातिए। यस पटक पक्राउ प्रहरीले नभएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गरेको थियो। २०७७ फागुनमा कर्जा दुरुपयोग गरेको आरोपमा अख्तियारले पक्राउ गरेर विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। त्यसपछि फेरि भेटवाल छुटे।

तर बुधबार फेरि उनी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो। यस पटक उनलाई फेरि चेक बाउन्सको आरोप लागेको छ। ३ करोड रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनलाई नियन्त्रणमा लिएको परिसरले जानकारी दिएको छ।

 


सम्बन्धित समाचार