Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

३ सय शैय्याको नर्सिङ अस्पताल बन्दै

पोखरा । पोखरामा ३ सय शैय्याको नर्सिङ अस्पताल खुल्ने भएको छ । पोखरा नर्सिङ क्याम्पसले पोखरा रामघाटमा नर्सिङ शिक्षण अस्पताल खोल्न लागेको हो । क्याम्पसले गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन र सेवा दिने उद्देश्यसहित अस्पताल चलाउन लागेको जनाएको छ ।
अस्पताल निर्माण सुरु गर्न गण्डकी प्रदेश सरकारले यो आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ३५ रोपनी जग्गामा बन्ने अस्पताल निर्माण सम्पन्न गर्न १ अर्ब २६ करोड रुपैयाँ लागत अनुमान गरिएकोे छ ।
संघीय सरकार, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, विद्यालय अनुदान आयोग उच्च शिक्षा सुधार परियोजना लगायतबाट बाँकी बजेट जुटाइने ताम्राकारले जानकारी दिइन् ।
३ सय शैय्याको नर्सिङ अस्पतालमा ओपीडी, मर्चुरी, प्रयोगशाला, फार्मेसी, अक्सिजन प्लान्ट, ब्लड बैंकलगायतको भौतिक संरचना बन्ने छ । ५ वर्षमा अस्पताल निर्माण सकिने प्रमुख ताम्राकारले जानकारी दिइन् ।
अस्पातलको बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका छन् । शिलान्यासपछि अर्थमन्त्री गुरुङले प्रदेश सरकारको सहयोगमा अस्पताल निर्माण हुने बताए ।
२०३९ साल फागुनमा सीएमए कार्यक्रमअन्तर्गत ४० जना विद्यार्थी लिएर अध्यापन सुरु भएको पोखरा नर्सिङ क्याम्पसमा अहिले २ सय ३८ नर्सिङ विद्यार्थी अध्ययनरत छन् । २०४१ सालदेखि नर्सिङ कार्यक्रम अन्तर्गतका प्रवीणता प्रमाणपत्र तहका कक्षाहरु सुरु भएको थियो ।

०६२ मा नर्सिङ क्याम्पसले २० जना विद्यार्थीबाट स्नातक तहका कक्षाहरु सञ्चालन थालेको थियो । हाल स्नातक तहमा ४० जनाको कोटा छ । २०७४ सालदेखि चाइल्ड हेल्थ नर्सिङ, एडल्ट नर्सिङ र वुमन्स हेल्थ एन्ड डेभलपमेन्ट गरी ३ विषयमा स्नातकोत्तरको कक्षा सुरु भएको थियो । अहिले १५ जना स्नातकोत्तरमा अध्ययनरत छन् ।