Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। पछिल्लो समय सेयर बजार निरन्तर आरालो लाग्ने क्रममा छ। दिनप्रति दिन पुँजीको सानो सानो हिस्सा गुमाउँदा लगानीकर्ताबीच निराशा छाएको छ। सकारात्मक सूचनाले पनि बजारमा आवश्यक ऊर्जा पैदा गर्न असक्षम देखियो। बजार प्रति जानकारहरुको भिन्नाभिन्नै टिका टिप्पणीले लगानीकर्ताको रणनीतिमा पनि असर परेको छ।
अन्योलमा देखिएका लगानीकर्ता आवश्यक रणनिति निर्माण गर्न नसक्दा धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै खरिद बिक्री रकम र मात्रा पनि खस्किएको छ। बजारमा आधारभूत कुरा हाबी भएको छ या केही प्राविधिक कारणले बजार नबढेको हो रु लगानीकर्तामाझ साझा सवाल बनेको छ।
अर्थतन्त्रका कमजोर आधारहरू बजारको वृद्धिमा अवरोध बनेको बजार विश्लेषक विष्णुप्रसाद बस्याल बताउँछन्। चुलिँदो शोधानान्तर घाटा र खस्किँदो मुद्रा सञ्चितिले अर्थतन्त्रमा निरन्तर दबाब पारिरहेको छ। अहिलेको तरलता संकट पनि शोधानान्तर घाटा र मुद्रा सञ्चितिमा आएको कमीको परिणाम हो, विश्लेषक बस्यालको तर्क छ, तर यो अवस्था लामो नहोला। बजारमा सुधार अवश्य आउँछ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघमा मुलुकको शोधानान्तर घाटा साढे दुई खर्ब रुपैयाँ हाराहारी छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको थियो। यस्तै, २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १६।२ प्रतिशतले कमी आई २०७८ माघ मसान्तमा ११ खर्ब ७३ अर्ब रुपैयाँ भएको छ।
आर्थिक वर्ष २०७८र७९ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७।४ महिनाको वस्तु आयात र ६।७ महिनाको वस्तु तथा सेवा आयात धान्न मात्र पर्याप्त रहने देखिन्छ। आयात नियन्त्रणमा पनि सरकार र राष्ट्र बैंकको दुवै पक्षको पहल निष्प्रभावी देखिएको छ। चालु आर्थिक वर्षमा विप्रेषणमा पनि उल्लेख्य गिरावट आयो, उनले भने।
उच्च आयातको प्रभाव मुद्रा सञ्चिति, शोधानान्तर र चालु खातामा मात्र नभएर तरलतामा पनि परेको छ। आयात केही व्यवस्थित भएपछि तरलता माथिको दबाब कम हुने अपेक्षा गर्न सकिने उनको भनाइ छ।
सरकार र राष्ट्र बैंकले अपनाएको तरलता समाधानका उपाय पनि वर्तमान स्थितिमा प्रभावकारी नदेखिएको उनले बताए। विगतमा बर्सेनि देखिने तरलता अभावभन्दा हालको संकटले प्रणालीमा गहिरो चोट पुर्याएको छ। ‘सर्ट टर्म लिक्विडिटी क्रन्चभन्दा पनि हामी बारम्बार दोहोरिइरहने तरलता अभाव र अस्थिर अर्थतन्त्रको चक्रब्युहमा फसेका छौं, विश्लेषक बस्यालले भने।
निरन्तर ओरालो लाग्ने क्रममा रहेका अर्थतन्त्रका समस्याग्रस्त सूचकांक र चर्किँदै गएको लगानीयोग्य रकमको अभावले पुँजी बजारको उकालो यात्रा अपेक्षा अनुरूप नरहेको उनी बताउँछन्। उनका अनुसार अर्थतन्त्र सुधारमा सरोकारवालाहरूको ध्यानाकर्षण हुनु आवश्यक छ।
सरकारको तर्फबाट दिगो अर्थतन्त्रका लागि पर्याप्त समाधानका पहल जरुरी छन्। यसको समाधान हुँदै नभएको होइन, बस्यालले भने , सरकारी निकायबाट हाम्रो अर्थतन्त्रको संरचनात्मक सुधारको विषयमा गम्भीर अध्ययन आवश्यक छ।
चक्रब्युहमा फसेको अर्थतन्त्रलाई उद्धार गर्न सरकारको तर्फबाट ठोस कदम चल्नु आवश्यक देखिन्छ। हाम्रो समग्र अर्थतन्त्रलाई रूपान्तरण गर्न माइलस्टोन नै कायम गर्ने प्रवृत्तिको नीति विकास र कार्यान्वयन अपरिहार्य रहेको छ, उनले थपे।
प्राविधिक विश्लेषण बजारमा गरिन्छ भने निरन्तर ओरालो लागेको बजार करिब करिब टेल इण्ड’मा आइपुगेको बजार विश्लेषक बस्याल बताउँछन्। बजारको तल ओर्लने क्रमबद्ध प्रक्रियाको हामी झन्डै अन्तिम चरणमा आइपुगेका छौं, उनले प्रस्ट्याए।
उनका अनुसार परिसूचकले तत्काल टेवा पाइ लय परिवर्तन गर्छ अथवा थप केही अंकको गिरावटपछि बल्ल बजारले बाउन्स ब्याकको संकेत दिनेछ, सो सम्भावनालाई अवलोकन गर्न अझै बाकी छ। ‘अन्तिम चरणमा आइपुगेको बजारलाई थप सय डेढ सय अंकले डिस्काउन्ट गर्ने हो या लगभग लगभग यही विन्दुहरूबाट बजारले लय परिवर्तन गर्ने हो भन्ने प्रश्न मात्र हो उनले भने।
प्राविधिक कारणहरूलाई विश्लेषण गर्ने हो भने सम्भवतः एकरदुई दिनको परीक्षण पश्चात् नै बजारले बाउन्स ब्याक लिने देखिएको बस्यालले उल्लेख गरे। ‘हाम्रो बजार अल्टिमेटली बुल रनमा नै जाने कुरामा म विश्वस्त छु उनले दाबी गरे।
बजारका प्राविधिक लक्षणले परिसूचक घट्ने आधारहरू देखाउँदैनन्। तर आधारभूत समस्या बजारको चढावमा पेचिलो बनेको छ। एकातर्फ बिग्रँदो अर्थतन्त्र र तरलता संकटले बजार बढ्ने आधार दिएको छैन। तर अर्को तर्फ भने गहिरिँदो आधारभूत समस्याको बाबजुद बजारमा अप्रत्याशित गिरावट पनि नदेखिने प्राविधिक संकेत देखिएका छन्। यस्तो अवस्थामा सरकारबाट अर्थतन्त्र सुधारका लागी निकै ठूलो पहल हुने अनुमानमा बजारले लक्ष्य निर्धारण गरिरहेको विश्लेषक बस्याल बताउँछन्।
अर्थतन्त्रको चुलिँदो भारको विषयमा सरकारले निकट भविष्यमा गहन अध्ययन गरी सोही अनुरूप नीति निर्माण गर्ने सम्भावना अब्बल रहेको उनी बताउँछन्। ‘पोलिटिकल क्लासले अर्थतन्त्रको संरचनात्मक सुधारको विषयमा गम्भीर निर्णय पो लिन्छ कि, बस्यालले भने, ‘सोही सम्भावनाको सकेत मार्केटको प्राविधिक प्रदर्शनीले गरेको छ। यस कारण पनि बढीमा बढी गिरावट देखिए हालको विन्दुबाट १० प्रतिशतसम्म गिरावट देखिएला। त्यसपछि मार्केटले राम्रो बुलिस संकेत गरेको छ।
बजारको प्राविधिक स्वभाव बुलिस रहेको हुँदा सायद अर्थतन्त्रको रूपान्तरणमा केही संरचनात्मक सुधार देखिने अनुमान गर्न सकिने बस्यालको धारणा छ। लामो समय देखि अर्थतन्त्र र तरलताका कठिनाइ प्रणालीमा दोहोरिइरहेको हुँदा पनि सरोकारवाला निकाय यस विषयमा गम्भीर देखिने अपेक्षा छ। बारम्बार यही समस्यामा मुलुक अल्झिन नहुने तर्क सहित परिवर्तनका कदम चालिने अनुमान छ।
आजको भोलि यी सुधारको अपेक्षा बेकार हुनेछन्। तर आगामी ६ महिना पश्चात् अर्थतन्त्र र तरलता लयमा फर्कने सकेत बजारले बुझ्यो भने पनि पुँजी बजारले उक्त सम्भावनालाई आजै देखि प्रतिबिम्बित गर्न थाल्छ, बस्यालले थपे। सेयर बजारले तत्कालको कठिन अवस्था अनुरुपभन्दा पनि आउने वाला ६ महिनामा आधारभूत पक्ष सुदृढ हुने प्रक्षेपणका आधारमा रियाक्ट गर्ने बस्यालको भनाइ छ।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल