Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब ओलीलाई एकीकृत पार्टी किन चाहियाे ?

इश्वरी वाग्ले

पार्टी एकताका काम नसकी फेरि गुटगत स्वार्थमा नेता डुब्दा नेकपाप्रतिको जनमत खस्कियो । विधि र पद्धतिलाई त हेरिएन । केवल पार्टीको कमान्ड र सरकारको चालले सन्तोष हुने ठाउँ राखेन । पार्टी कार्यालय छन्, त्यहाँ अध्यक्षसमेत रहेका केपी ओली जाँदैनन् । सुरुमै एक नदीका दुई किनारा जस्तो चरित्रका केपी ओलीको छुद्रताले नेपाली राजनीतिलाई सहमति र सहकार्यको बाटोमा लैजाने नै थिएन । कम्युनिस्ट एकताको कुरै टाढा भयो । तत्कालीन एमालेको ओली गुटले बरु राप्रपा र काँग्रेसलाई सहकार्य गर्न रुचाउँथ्यो । तर नेकपा नामका साना शक्तिहरूलाई पेल्ने र छिन्न–भिन्न पार्ने गरेकै थियो । त्यसमा पनि ओली गुट जस्ता दुष्ट र अराजक टोलीले नेपालमा कम्युनिस्ट पार्टीको सिद्धान्त, दर्शन र विचारलाई कहिल्यै अनुशरण गर्न चाहेन । एमालेभित्रै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम पेलिने र फुत्कने गरेका थिए । माओवादीलाई सिध्याउन अनेक खेल भएकै हुन् । त्यहाँ वामदेव सारथि भए ।

प्रचण्डको कमान्डमै गुटबन्दीले महत्व पायो । जनयुद्धले स्थापित गरेको मूल्य–मान्यता त्याग्दै खुला राजनीतिमा आएपछिको शासनमा उनीहरू रमाए । मोहन वैद्यको समयलाई सदुपयोग गर्नुभन्दा पुरातन शैली यथावत् राख्ने उनकै शैली रुचाउने अवस्था थिएन । त्यो चिन्तन र पद्धति लोकतान्त्रिक गणतन्त्रले रुचाएन । गुटको नेता बन्न प्रचण्ड, वैद्य, बाबुरामले चासो दिए, समग्र पार्टी यहाँ भनिएन । सत्तास्वार्थ पार्टीको नाममा भन्दा गुटमै रमायो । प्रचण्डलाई कमजोर बनाएर डा. बाबुरामलाई सत्तामा पु¥याएका मोहन वैद्यले पार्टी फुटाउन तयार भए । त्यहाँ उनको पदीय स्वार्थ थियो । जसको क्षमताले जति भ्यायो, गर्ने त्यही हो । नेपालमा कम्युनिस्टको नाममा पतन भएकाहरू बढाउन पश्चिमा जासुसहरू र साम्राज्यवादी शक्ति लाग्यो । त्यही शक्तिले नेकपामा जनजाति लहर छिरायो । पार्टी विभाजन त्यसैले गरायो । देव गुरुङ, सुरेश आलेमगर यसका होनहार योद्धा हुन् ।

माओवादी छिन्न–भिन्न भएकोमा एमालेको ओली प्रवृत्ति खुसी थियो । प्रचण्डले त्यही पंक्तिसँग पार्टी एकता गरे । सिद्धान्त र विचारको छलफल नगरी पार्टीमा कुनै बहस नगरी ओलीलाई प्रधानमन्त्री बन्ने रहर पूरा गर्न प्रचण्ड सफल भए । ओलीले आफैँले गरेको त्यो सहमति त्याग्न आइतवार कुरेनन् । अब त उनलाई एकीकृत पार्टीको खाँचो छैन । नीतिगत भ्रष्टाचारले ओली र उनको टिमले जीवनभर पुग्ने कमाएकै छ । पार्टी एकता गरेर चुनावमा ठूलो दल हुने र आफू कम्युनिस्ट सरकारको प्रम बन्ने रहर पुग्यो । प्रचण्डलाई पार्टी सत्ता पनि छैन, सरकारको नेतृत्व पनि छैन ।

कहाँ गयो निष्पक्षता ?
छिमेकीको पेलाहा चरित्रले नेपाली जनता समस्यामा परेका छन् । तराईका सीमा क्षेत्र अहिले डुबानमा छन् । सरकारको तहबाट कूटनीतिक वार्ताको प्रयास छ तर भारत सुन्दैन । अन्तर्राष्ट्रिय जगत्मा भारतीय पेलाहा शैली पु¥याउन परराष्ट्र मन्त्रालयले चासो दिन सकेन । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीको खटाइले मात्र देशको राष्ट्रिय अस्मिता बच्दैन । भारतीय हेपाहा शैली बढ्नुको कारण नै भारतीय दलालहरू राजनीतिमा बढ्नु हो । राष्ट्रघाती महाकाली सन्धि गर्ने नेकपा एमालेको ओली गुट नै हो । त्यो सन्धिपछि ओली गुटको एकलौटी सङ्गठनको सक्रियताले त्यस्तै सन्देश दिने गरेका छन् । राष्ट्रपति राष्ट्रको रक्षक भइनन् । उनले प्रम ओलीको अपराधलाई वैद्यता दिने मात्र हो । पार्टी फुटाउने अध्यादेश स्वीकृत गर्दा विद्याले कसैलाई गणना गरिनन् । यो बेला देश बाढीपहिरोले त्राहीमाम छ । कोरोनाको महामारी चम्कँदो छ । भ्रष्टाचार लकडाउनमा पनि घटेन । औषधि खरिदमा पनि कम भएन । देशको ढुकुटीमा मनपरी गर्ने ओलीका दासहरू छन् । पार्टी विवादमा पार्ने समान हैसियतका नेतामाथि मनपरी बोल्ने र फेसबुकमा फैलाउने पनि ओलीकै सचिवालयका हुन् ।

एकीकृत पार्टीले पूर्णता नपाउने हो भने ढिलाइ किन गर्ने ? आफ्नो एजेन्डा लिएर गए भयो । जनताको लागि कम्युनिस्टले केही गर्दैन भन्ने प्रमाण ओली गुटले देखाइसक्यो । माधव पनि स्वार्थकै कुरा गर्ने, वामदेव संविधानमै नभएको पद खोज्ने र ओली कानुन नमान्ने पार्टीको विधान लत्याउने भएपछि एकीकृत पार्टीको प्रतिष्ठा कहाँ रह्यो ? पार्टी कार्यालय छ, सरकारी निवासमा गुटको भेला हुन्छ । प्रचण्डको तेजोबध गर्नकै लागि नीतिगत लुटाहाको खेलोफड्कोमा एमाले व्युँताए भयो । होइन भने एमाले पक्षबाटै पार्टी कब्जा गर्नुपर्छ, माओवादीलाई पार्टी नेतृत्व दिन्नँ भनेर ओली कुर्लनुको के अर्थ ? जसले बनाउँदैन, भत्काउँछ मात्र । विदेशी सम्बन्ध बिग्रियो । नेपाली भूमि समेटेर नक्सा ल्याइयो । भूमि फिर्ता ल्याउन बाँकी छ । ओली गुटको पारा यस्तो लज्जित बनाउने सामथ्र्य राख्छ । अहिलेको चाल देख्दा लाग्छ, देशमा यो पार्टी र सरकारले केही गर्ला भन्ने विश्वास गर्न सकिँदैन ।