Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अब विद्यालयमा उपस्थित भएरै पठनपाठन

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तथा कलेज सञ्चालन सम्बन्धी कार्यविधि बनाएको छ । कार्यविधि अनुसार विद्यालयलाई चार भागमा विभाजन गरेर सञ्चालन वा बन्द गर्नु पर्ने छ । सरकारले साउनमा जारी गरेको ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ अनुसार शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन कार्यविधि तयार गरेको हो । स्मार्ट लकडाउनका आधारमा ‘रेड जोन’, गाढा पहेँलो, पहेँलो र हरियो (ग्रीन जोन) क्षेत्रका आधारमा विद्यालय खोल्ने र बन्द गर्ने गरी शिक्षा मन्त्रालयले कार्यविधि ल्याएको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना संक्रमणका आधारमा रेड जोन र गाढा पहेलो रहेको स्थानीय तह वा जिल्लाहरुमा विद्यालय बन्द रहनेछ । त्यस्तो ठाउँमा यसअघि शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ अनुसार वैकल्पिक माध्यमबाट अध्यापन गराइने छ । निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी, रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी र इन्टरनेट तथा सूचना सञ्चारको पहुँचमा भएका विद्यार्थीको समूह वर्गीकरण गरिएको छ ।
सम्बन्धित स्थानीय तह र विद्यालयले ती विद्यार्थीहरुको पहुँचको पहिचान गरी वैकल्पिक माध्यमबाट अध्यापन गराउनुपर्ने उनले बताए । त्यस्तै पहेँलो क्षेत्रमा परेका स्थानीय तहका विद्यालयमा वा कलेजमा भने आलोपालो गरेर भौतिक उपस्थितिमा विद्यार्थीको अध्यापन अघि बढाउन सकिने प्रवक्ता शर्माले बताए ।
उनका अनुसार सीसीएमसीले पहेँलो क्षेत्र घोषणा गरेको स्थानीय तहका विद्यालयमा भएका विद्यार्थी संख्याको एक तिहाई विद्यार्थीलाई विद्यालयमा नै बोलाएर आलोपालो गरी दैनिक रुपमा भौतिक उपस्थितिमै अध्यापन गराउन सकिने छ । ग्रीन जोनमा रहेको स्थानीय तहका विद्यालयहरु भने पूर्ण रुपमा खोल्न पाइने शर्माले बताए । उनका अनुसार विद्यालय सञ्चालन गर्दा शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७’ मा उल्लेख गरिए बमोजिमको स्वास्थ्य सुरक्षा अपानाउनु पर्ने छ ।
कोभिड १९ संकट व्यस्थापन केन्द्र सीसीएमसीबाट पनि कार्यविधि स्वीकृत भइसकेकाले अब सीसीएमसी वा डीसीएमसी र स्थानीय तहको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने प्रवक्ता शर्माले बताए । उनका अनुसार सीसीएमसीले जारी गरेको स्मार्ट लकडाउनका आधारमा विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीयले गर्न सक्नेछन् । स्मार्ट लकडाउनका आधारमा विद्यालय रेड जोन, गाढा पहेँलो, पहेँलो वा हरियो कुन क्षेत्रमा परेको छ । सोही आधारमा विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय सीसीएमसी र स्थानीय तहले गर्न सक्ने छ ।
विद्यालय कुन जोनमा परेको छ भन्ने एकीन शिक्षा मन्त्रालयलाई नभए सीसीएमसी वा डीसीएमसीले गर्ने शर्माले बताए । सीसीएमसीले विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नरहेको स्थानीय तहसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न दिने उनले बताए । कार्यविधि मन्त्रालय र सीसीएमसीबाट स्वीकृत भएर संघीय मामिला मन्त्रालयमा गइसकेकाले यो कार्यविधि चाँडै लागु हुने उनको भनाइ छ ।