Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ — भारतीय कम्पनी सतलज जलविद्युत् निगमले संखुवासभामा निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाले मुआब्जा नदिए निर्माण ठप्प पार्ने स्थानीयले चेतावनी दिएका छन् । खाँदबारी नगरपालिकाका मेयर महेश थपलियासहित लगानी बोर्डको कार्यालयमा आएको टोलीले मुआब्जा नपाए भदौ १ देखि अरुण ३ प्रवेशमार्ग र पावरहाउसको काम ठप्प पार्ने चेतावनी दिएको हो ।
२४ किमि सडकको ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ तत्काल निकासा गर्नुपर्ने, अन्यथा आयोजनाको काम ठप्प पार्ने स्थानीयको चेतावनी छ । छ्याङ्कुटी–दिदिङ २४ किमि सडकखण्डको छुट मुआब्जा सरकारले उपलब्ध गराउने भन्ने मन्त्रिपरिषद्को निर्णय भए पनि कार्यान्वयन नभएपछि लगानी बोर्डलाई साउन मसान्तसम्मको समय दिइएको थपलियाको भनाइ छ । सरकारले प्रतिरोपनी एकमुष्ट ११ लाख ७५ हजार निर्धारण गरेको छ । उक्त रकम तत्काल दिनुपर्छ, उनले भने, निर्माण कम्पनी सतलज जलविद्युत् निगमले काम अवरुद्ध भएको भनेर सामाजिक उत्तरदायित्वबापतको रकम ५५ करोड कटाएको सुनें, त्यस्तो हो भने आयोजनामा तालाबन्दी गर्छौं ।
लगानी बोर्डको ४७औं बैठकले छुट मुआब्जा दिने निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित कार्यदलले पेस गरेको प्रतिवेदनअनुसार मन्त्रिपरिषद् बैठकले ०७८ चैत १७ मा छुट मुआब्जा दिने निर्णय गरेको हो । ०८० वैशाख २६ मा जिल्ला प्रशासन कार्यालय संखुवासभाले प्रतिरोपनी एकमुष्ट ११ लाख ७५ हजार निर्धारण गरेको र पहिलो चरणमा ४५४ रोपनी जग्गाको ५३ करोड ७४ लाख ५० हजार बजेट निकासी नगरेको थपलिएको भनाइ छ । यता लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट भने बजेट निकासीको प्रक्रियामा रहेको र अरुण ३ को समस्या छिट्टै समस्या समाधान हुने दाबी गर्छन् ।
अरुण तेस्रो जलविद्युत् आयोजनामा उत्पादनतर्फ उल्लेख्य प्रगति भए पनि प्रसारण लाइनको प्रगति नगन्य छ । बिजुली उत्पादनको कार्यप्रगति ६७ प्रतिशत हाराहारीमा सकिए पनि प्रसारण लाइन निर्माणको काम भने करिब २० प्रतिशत मात्रै रहेको प्रमुख कार्यकारी निर्देशक भट्ट बताउँछन् । प्रसारण लाइनको काममा मुआब्जालगायतको विवादले पनि ढिलाइ भएको हो ।
भारतीय कम्पनी सतलज जलविद्युत् निगमको सहायक कम्पनीका रूपमा सतलज अरुण–३ पावर डेभलपमेन्ट कम्पनी’ ले आयोजना बनाइरहेको छ । आयोजनासँगै प्रसारण लाइनको काम पनि यही कम्पनीले गरिरहेको छ । केही महिनाभित्र मुआब्जा विवाद नसुल्झिए आयोजनाको बिजुली उत्पादन हुने बेलासम्म पनि प्रसारण लाइनको संरचना तयार नहुने लगानी बोर्डले बताएको छ । अरुण तेस्रो आयोजनाको बिजुली भारत पुर्याउने प्रसारण लाइन यही नै हो ।
४ सय केभीको प्रसारण लाइन आयोजना स्थल संखुवासभाको दिदिङदेखि भारतको सीतामढीसम्म २५३ किमि दूरीको छ । दिदिङदेखि महोत्तरीको बथनाहसम्म २१७ किमि नेपालतर्फको भागमा मुआब्जाको समस्या छ । भारततर्फ पर्ने ३६ किमि प्रसारण लाइनको काम भने सकिएको भट्टले जनाए । विशेषगरी नेपालतर्फ जग्गाधनीले बढी लागत माग गरेका कारण प्रसारण लाइनको काम सोचेअनुरूप अगाडि बढ्न नसकेको बोर्डको भनाइ छ ।
संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, धनुषा र महोत्तरी हुँदै जाने उक्त प्रसारण लाइनमा ५९७ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म २६१ वटा मात्रै बनेका छन् ।
महोत्तरीमा ८७ वटै टावरका लागि जग्गा प्राप्ति भएर तार तान्ने र टावर निर्माणको काम सुरु भएको छ । सिरहामा २३ वटा टावर निर्माण गर्नुपर्नेमा ६ वटामा मात्रै व्यक्तिगत जग्गा परेको हुँदा यसमा धेरै समस्या नरहेको बोर्डको भनाइ छ । अरुण तेस्रो आयोजनाको प्रसारण लाइनको प्रगति द्रुत गतिमा अघि बढाउन जग्गाको मुआब्जा विवाद छिटो सुल्झाउनुपर्ने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधुप्रसाद भेटुवाल बताउँछन् ।
अरुण तेस्रोको ठूलो चुनौती प्रसारण लाइन सम्पन्न गर्नुमै रहेको उनको भनाइ छ । केही महिनाअघिको निरीक्षणमा उदयपुर, धनुषा र महोत्तरीमा राम्रै प्रगति भएको र संखुवासभा र भोजपुरतर्फका भागमा समस्या देखिएको भेटुवालले जनाए । प्रसारण लाइनको विकल्प नभएको र यसमा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल