Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अर्थमन्त्री वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजेको उडानबाट नयाँदिल्ली गएका हुन्।

अर्थमन्त्रीको भ्रमणमा विपद्पछिको पुनर्निर्माणसँगै नेपाल–भारतबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

शुक्रबार साँझ भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोही दिन भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाटमा पनि वाग्ले सहभागी हुनेछन्।

शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने वाग्लेको कार्यक्रम छ। त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्समा हुने प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।