Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असार १६ र १७ गते भारी वर्षाकाे सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न भागमा भारी वर्षा तथा केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्राधिकरणले आइतबार सूचना जारी गर्दै मनसुनी गतिविधि सक्रिय भएसँगै अकस्मात् बाढी, पहिरो, डुबान, कटान र गेग्रान बहावको जोखिम बढेकाले विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।

प्राधिकरणका अनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। यस्तै पहाडी तथा तराईका अधिकांश स्थान र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको पनि सम्भावना रहेको जनाइएको छ।

प्राधिकरणले बाढी आउन सक्ने खोला, खहरे र नदी आसपासको क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा पहिरोको जोखिम रहेका बस्तीका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई आवश्यक परे सुरक्षित तथा उँचो स्थानमा तत्काल सर्न पनि अनुरोध गरिएको छ।

साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न र जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर काम गर्न पनि प्राधिकरणले आग्रह गरेको छ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् व्यवस्थापन हेल्पलाइन ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।


सम्बन्धित समाचार