Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज रविले सहकारी छानबिन समितिलाई बयान दिने

काठमाडौं। सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीमा नाम जोडिएको र गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए। लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ। समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिएको थियो। विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उहाँको हस्ताक्षर चल्ने गरेको बयान दिएका थिए। यसअघि बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफू बयान दिन जाने बताएका थिए। समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सूर्य थापाले बताएका छन् ।