Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नै तागतमा निर्वाचन जित्न कहाँ उठ्ने कामरेड ?

काठमाडौँ । औलो समाउन खोजेकै पार्टीका नेताले चमेराको संज्ञा दिएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निर्वाचनमा पार्टी आफ्नै बलमा जित्ने गरी अगाडि बढ्ने बताएका छन् । उनले गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेलको कुरा आए सोच्न सकिने तर मूल रूपमा आफ्नै बलमा अगाडि बढ्ने नीति लिएको बताएका हुन् । नुवाकोटमा शनिबार आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष दाहालले निर्वाचनको कार्यक्रम, नीति र योजना बनाउने क्रम चलिरहेको बताएका छन् । पार्टीको सम्पूर्ण ध्यान स्थानीय तहको निर्वाचनमा लागेको उनको भनाइ छ । दाहालले भने, हामी आफ्नै खुट्टामा उभिएर, जनतासँग सम्बन्ध बलियो बनाएर, आफ्नै तागतमा जित्ने कुरालाई उच्च प्राथमिकता दिनेछौं । निर्वाचनमा गठबन्धनबारे उनको भनाइ थियो, निर्वाचन नजिक आउँदै गर्दा तालमेल बन्ने स्थिति बन्यो भने गठबन्धनका बीचमा नै तालमेल गर्ने भन्ने नीति छ । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि घोषणा गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आफ्ना कार्यक्रम तीव्र पारिरहेका छन् । निर्वाचन आयोगले पनि निर्वाचनको तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूबीच निर्वाचनमा गठबन्धन बनाएर जाने कि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भन्नेबारे छलफल चलिरहेको बेला दाहालको उक्त भनाइ आएको हो । यस क्रममा नेता दाहालले एमसीसी सम्झौतालाई लिएर पार्टीभित्र चलेको विषयमा पनि आफ्नो धारणा राखेका थिए। उनले एमसीसी सम्झौताको विषय व्याख्यात्मक टिप्पणीमार्फत् टुंगो लगाइएको बताए । सुरुदेखि नै माओवादीले एमसीसी जस्ताको तस्तै पारित गर्न हुँदैन भन्ने धारणा राखेको र संसद्बाट सोहीअनुसार व्याख्यात्मक घोषणा गरिएको उनको भनाइ थियो । एमसीसी सम्झौतालाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्दा यथास्थितिका पक्षमा मतदान नगर्ने भनेर सरकारको प्रमुखलाई जानकारी दिइएको र सडकमा पनि आन्दोलन गरेकाले व्याख्यात्मक घोषणा गरिएको दाहालको भनाइ थियो ।