Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बिचौलियाको आरोप लागेका इनम सापकोटा र सञ्चारकर्मी टिकाराम यात्री (चौंलागाईं) बीच पारिवारिक नाता रहेको दाबीसहित सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। पूर्वसचिव भीम उपाध्यायले सापकोटा पत्रकार यात्रीका भान्जा भएको दाबी गर्दै फेसबुकमा लेखेपछि यस विषयले थप चर्चा पाएको हो।
उपाध्यायले यात्रीकी साइँली दिदीको छोरा इनम सापकोटा रहेको उल्लेख गरेका छन्। तर, उक्त दाबीको पुष्टि हुने कुनै स्रोत वा प्रमाण उनले सार्वजनिक गरेका छैनन्।
उपाध्यायको पोस्टपछि यात्रीले आफ्नै युट्युब कार्यक्रममा इनम सापकोटाबारे गरेको चर्चालाई जोडेर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन्। कतिपयले पारिवारिक सम्बन्धकै कारण यात्रीले सापकोटाको प्रशंसा गरेको दाबी गरेका छन्।
यात्रीले हालै आफ्नो कार्यक्रममा सापकोटाको व्यक्तित्व, शैक्षिक पृष्ठभूमि र उच्च तहका अधिकारीहरूसँगको पहुँचबारे लामो चर्चा गरेका थिए। उनले सापकोटालाई ‘असाधारण’, ‘कुशाग्र’, ‘तीक्ष्ण’ र ‘आकर्षक’ जस्ता विशेषण प्रयोग गर्दै प्रस्तुत गरेका थिए।
कार्यक्रममा यात्रीले सापकोटाले आफूलाई भारतीय दूतावासको गोप्य कर्मचारी वा चिकित्सकका रूपमा परिचय गराएर उच्च अधिकारीहरूसँग पहुँच बनाएको दाबी गरेका थिए। त्यस्तै, प्रधानमन्त्री बालेन्द्र शाह, सत्तारूढ दलका शीर्ष नेता र विदेशी कूटनीतिक नियोगसँग सम्पर्क रहेको भन्दै न्यायाधीश तथा उच्च अधिकारीहरूलाई प्रभावित पार्ने प्रयास गरेको उनको भनाइ थियो।
यात्रीले सापकोटाले ललितपुरको लिटिल एन्जल्सबाट विद्यालय तहको शिक्षा पूरा गरेको, एमबीबीएस र एमडी अध्ययन गरेको तथा अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेको दाबीसमेत गरेका थिए।
यद्यपि, सापकोटाको शैक्षिक योग्यतासम्बन्धी विवरण र हार्वर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेको दाबीको सत्यतामाथि सामाजिक सञ्जालमा प्रश्न उठेका छन्। ती विवरणको स्वतन्त्र पुष्टि भने सार्वजनिक रूपमा भइसकेको छैन।
यसैबीच, सामाजिक सञ्जालमा नातासम्बन्धी चर्चा बढेपछि हामीले पत्रकार यात्रीलाई नै यसबारे सोधेका थियौँ। उनले इनम सापकोटा आफ्नो भान्जा भएको दाबी अस्वीकार गरे।
‘मेरो जानकारीबिना बुवाआमाले दिदी जन्माउनुभएको भए बेग्लै कुरा। मेरो कुनै दिदी हुनुहुन्न। एउटा भाइ र एउटा बहिनी छन्,’ यात्रीले भने।
आफ्ना फुपूहरूमध्ये पनि कोही सापकोटा थरका नभएको उनले स्पष्ट पारे। इनमसँग अन्य कुनै पारिवारिक सम्बन्ध छ कि भन्ने प्रश्नमा उनले अहिले कुनै सम्बन्ध नरहेको बताए।
‘भोलि मेरो छोराले सापकोटासँग बिहे गर्यो भने कतैबाट नाता पर्न सक्ला। अहिले चाहिँ उहाँसित केही पनि सम्बन्ध छैन,’ यात्रीले भने।
सापकोटाको शैक्षिक योग्यता र आफ्नो कार्यक्रममा प्रस्तुत गरेका विवरणबारे भने आफू विश्वस्त रहेको यात्रीको दाबी छ। सामाजिक सञ्जालमा भइरहेको आलोचनाबारे उनले पछि सबै कुरा स्पष्ट पार्ने बताए।
‘म सबै कुरा भरे–भोलि प्रस्ट्याउँछु। अहिले ट्रोल गर्नेहरूलाई गर्न दिऊँ,’ उनले भने।
यता, इनम सापकोटा आफ्नो भान्जा भएको दाबी गरेका पूर्वसचिव उपाध्यायसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन्।
यसरी स्रोत नखुलाई गरिएको नातासम्बन्धी दाबीलाई पत्रकार यात्रीले अस्वीकार गरेपछि सामाजिक सञ्जालमा भइरहेको चर्चाको आधिकारिक पुष्टि हुन सकेको छैन।
२०८३ कार्तिक १८
ताजा नेपाल
२०८३ कार्तिक १८
ताजा नेपाल
२०८३ कार्तिक १७
ताजा नेपाल