Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्स्पेक्टर शाहीले हल्लाएको प्रहरी संगठन

काठमाडौं । ललितपुरको भैंसेपाटीमा एक जग्गा व्यापारीलाई हनीट्रयापमा पारी थुनेर ३० लाख रकम असुल्ने घटनामा मुछिएकी प्रहरी निरीक्षक बिनु शाहीलाई कारबाहीबाट जोगाउने चलखेल भइरहेको छ । हनीट्रयाप प्रकरणमा छानबिन समितिले शाहीलाई निलम्बन गर्न सिफारिस गरेको १५ दिन बितिसक्दा पनि गृहमन्त्रालयले उनलाई निलम्बन गरेको छैन । प्रहरी प्रधान कार्यालयले पनि उनलाई निलम्बन गर्न सिफारिस गरेको छैन । उल्टै हनीट्रयापमा पारी रकम असुलीमा मुछिएकी इन्स्पेक्टर शाहीले फेसबुकको स्टोरीमा आफू कमजोर नरहेको भन्दै प्रहरी प्रमुख बसन्तबहादुर कुँवरलाई नै चुनौती दिने आसयको अभिब्यक्ति सार्वजनिक रुपमा दिएकी छन् । शाहीका बिरुद्ध समाचार लेख्ने मिडियालाई पनि अज्ञात ब्यक्तिमार्फत् फोन सम्पर्क गर्न लगाएर धम्कीको भाषा प्रयोग गर्ने काम समेत उनीबाट हुँदैआएको छ । हनीट्रयापमा पार्ने गिरोहले विगतमा पनि यसैगरी प्रहरीसँग मिलेर धेरैलाई फसाइसकेको सार्वजनिक भएको छ । सुनसरीका ताज इस्लाम नेतृत्वको समूहले गएको जेठमा दोलखाका एमाले नेता तथा ठेकदार विदुर शर्मालाई पनि यसैगरी फसाएर १६ लाख रुपैयाँ असुलेको पुष्टि भएको छ । इस्लामलाई ललितपुर प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ । हाल ललितपुर प्रहरीले ताज इस्लामसहित सुष्मा विक र भीमाकुमारी थापालाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । थापालाई शुक्रबार पक्राउ गरिएको हो ।