Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मुलुकको गौरवको रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगले उत्पादन शुचारु गरेको छ । कच्चा पदार्थको अभावका कारण डेढ महिनादेखि बन्द रहेको उद्योग सञ्चालनका लागि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयका प्राविधिक उपसचिव खगेन्द्र बस्नेतलाई महाप्रबन्धकको अख्तियारी दिएर पठाएको थियो । जिम्मेवारी पाएलगत्तै बस्नेतले बन्द अवस्थामा पुगेको उद्योग सञ्चालनका लागि सञ्चालक समिति, उद्योगका कर्मचारी र मजदुर संगठनका प्रतिनिधिहरुसँग पटक पटक छलफल गरी उद्योग सञ्चालनको वातावरण बनाएका हुन् । उद्योग मन्त्रालय पनि उद्योग सञ्चालनका लागि सहजीकरणको भूमिकामा थियो । गत शुक्रबारबाट पुनः सञ्चालनमा आएको उद्योगले दैनिक रुपमा ५०० टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योग प्रशासनले जनाएको छ । उद्योगको उत्पादन क्षमता बढी भए पनि बन्द हुनुअघि दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योग सञ्चालनमा आएको अवरोधलाई हटाउन नसकेकै कारण पूर्ण कार्यकाल नबिताई महाप्रबन्धक गोपी न्यौपानेले राजीनामा दिएका थिए । उनको राजीनामासँगै रिक्त रहेको महाप्रबन्धकको भूमिका निभाउन मन्त्रालयले उपसचिव बस्नेतलाई तत्कालका लागि खटाएको हो । मन्त्रालयले पूर्णकालिन महाप्रबन्धक नियुक्तिका लागि विज्ञापन आह्वान गरिसकेको छ । बन्द उद्योग पुनः सञ्चालनमा आएसँगै मजदुरहरु खुशी भएका छन् । सरकारी स्वामित्वकै हेटौंडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावकै कारण बन्द भएकै समयमा उदयपुर सिमेन्ट उद्योग भने सञ्चालनमा आएको छ । उक्त उद्योगलाई दिगो रुपमा सञ्चालनमा ल्याउनका लागि सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल