Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यकामा दुर्घटनाको तथ्यांक डरलाग्दो

काठमाडौं । मुलुकभर हुने दुर्घटनाको ६० प्रतिशतभन्दा बढी दुर्घटना काठमाडौं उपत्यकामै हुने गरेको तथ्यांकले देखाएको छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा देशभर १३ हजार ४२१ सवारी दुर्घटना भए । तीमध्ये आठ हजार ५११ अर्थात् ६३ प्रतिशत दुर्घटना काठमाडौं, भक्तपुर र ललितपुरमा भएका हुन् । पछिल्ला १२ वर्षमा देशभर एक लाख पाँच हजार दुर्घटना भएकोमा उपत्यकामा मात्रै ५९ हजार ६२१ रहेको प्रहरीको तथ्यांक छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा पछिल्ला १२ वर्षमा भएका दुर्घटनामा एक हजार ९४२ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनापछि मुख्य कारणबारे अध्ययन र विश्लेषण भए पनि न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न नसक्दा दुर्घटनाको दर भने घटेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकामा सवारी दुर्घटनाको दर वृद्धि भएको बताए । तर, मानवीय क्षतिको दर भने क्रमशः नियन्त्रण हुने क्रममा रहेको उनको दाबी छ । उपत्यकामा दुर्घटनामा परी मृत्यु हुनेको संख्या आव ०६४/६५ मा १२० थियो । आव ०७०/७१ मा १३३, ०७४/७५ मा १९४ र ०७५/७६ मा यो संख्या २५४ पुगेको देखिन्छ । चालू वर्षको पहिलो चौमासिकमा दुर्घटनामा परी ५९ जनाले ज्यान गुमाएको ट्राफिकको रिपोर्ट छ ।

उपत्यकामा सवारी दुर्घटनाको दर हरेक पाँच वर्षमा दोब्बरले वृद्धि भइरहेको छ । आव ०६४–६५ मा उपत्यकामा दुई हजार २११ दुर्घटना भए । दुर्घटनाको यो दर दोब्बरभन्दा बढीले वृद्धि भएर आव ०७०/७१ मा चार हजार ६७२ पुगेको थियो । यस्तै, पाँच वर्षपछि आव ०७५/७६ मा यो संख्या वृद्धि भएर ८ हजार ५११ पुगेको छ । चालू आवको पहिलो चौमासिकमा चार हजार १७१ सवारी दुर्घटना भएका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न अभियान सञ्चालन गरे पनि दुर्घटनाको दर भने बढेकोबढ्यै छ ।

ट्राफिक नियम नमान्दा दुर्घटना बढ्यो : ढकाल
चालकको लापरबाही, तीव्र गतिलगायत कारणले दुर्घटना बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाल बताउँछन् । हाम्रो अभिलेखीकरण व्यवस्थित भएकाले सबै दुर्घटना अभिलेखमा आउँदा पनि संख्या बढेको हो । दुर्घटनाको मुख्य कारण भनेको ट्राफिक नियमको उल्लंघन नै हो । चालक ट्राफिक नियम मान्दैनन् । पैदलयात्रु आकाशेपुलमुनिबाट सडकबाटै बाटो काट्छन् ।

बाटो उही छ, तर सवारी थपिएका थपियै छन् । पुराना गाडीहरू पनि छन् । यी विभिन्न कारणले दुर्घटनाको दर बढेको हो । सडक पूर्वाधार कमजोर भएकाले पनि समस्या हुने गरेको छ । सडक प्रविधिमैत्री बनेको छैन । तीव्र गति, चालकको लापरबाही, सडकको दुरावस्थालगायत कारणले उपत्यकामा सवारी दुर्घटनाको दर बढेको छ । दुर्घटना र त्यसबाट हुने मानवीय क्षति कम गर्न हामी कोसिस गरिरहेका छौँ, ढकालले बताए ।