Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यकामा ५८३ सहित देशभर थपिए १२०७ कोरोना संक्रमित, ८ जनाले ज्यान गुमाए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको छ । उनका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् । यस्तै आज पीसीआर १० हजार १९ जनाको भएको छ । यस्तै गत २४ घण्टामा १ हजार १४७ र निको भएका छन् भने यससँगै देशभर हालसम्म निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ ।

उपत्यकाका ४ सहित ८ को मृत्यु
कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २० र ७४ वर्षीय पुरुष रहेका छन् भने ललितपुर र भक्तपुरका क्रमशः ७६ र ८८ वर्षीय पुरुष रहेका छन् । यस्तै सप्तरीका ६६, मकवानपुरका ७४, रुपन्देहीका ७२ र कैलालीका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ०।६५ प्रतिशतको मृत्यु भएको छ ।

काठमाडौंमा ५८३ कोरोना संक्रमित
बितेको २४ घण्टामा काठमाडौंमा थप ५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये महिला १९९ र पुरुष ३८४ जना रहेका छन् । यस्तै भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी जम्मा ७२४ जनामा संक्रमण पुष्टि भएको छ ।