Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मोरङ । विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिएको छ । गाउँका अगुवाको असामयिक अवसानको जति चिन्ता थियो, अब गाउँमा बस्न गाह्रो हुने हो कि भन्ने भय पनि त्यति नै देखिन्थ्यो । उत्तरी मोरङको मिक्लाजुङ–१ रमिते बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठ अपरिचितको समूहबाट मारिएका होइनन् । उनलाई लैजाने समूह घटनाअघि पनि घरमा तरकारी माग्न आइरहन्थ्यो । सशस्त्र द्वन्द्व भोगेको विकट बस्तीका बासिन्दालाई राजनीतिक आस्थाका कारण भूमिगत भएकाहरू अनौठा थिएनन् ।
गणतन्त्रपछि पनि गाउँसम्म बाटो आइपुगेको छैन । स्वास्थ्यचौकी र प्रहरी कार्यालय कोसौं टाढा छन् । सदरमुकाम पुग्नु परे दुई दिन खर्च हुन्छ । अन्त्येष्टिमा सहभागी भएका एक छिमेकीका अनुसार श्रेष्ठलाई गत मंगलबार बिहान ७ बजे घरनजिकैको गोठबाट अपहरण गरिएको थियो । श्रेष्ठका दुईवटा गोठ छन् । बिहानै श्रेष्ठ एउटा गोठतिर लागे भने उनकी पत्नी धनकुमारी घरदेखि करिब एक किलोमिटर परको अर्को गोठतिर गएकी थिइन् । नेत्रविक्रम चन्द समूहका ६ जना कार्यकर्ता श्रेष्ठ भएको गोठमा पुगे । ६ मध्ये चार जनाले अनुहार छोपेका थिए । उनीहरूले श्रेष्ठलाई हात अगाडि बाँधेर घरदेखि उत्तरतर्फ हिँडाउँदै लगे । करिब ३० मिटर अगाडि छिमेकीको घर पुगेपछि श्रेष्ठले ‘मलाई त साथीहरूले लगे है माल्दाइ’ भने । त्यसपछि त्यहाँ दुई जना स्थानीय युवक निस्के । उनीहरूले अपहरणकारीको समूहलाई ‘हाम्रो सरलाई किन लगेको’ भनेर सोधे । उनीहरू ‘उहाँलाई सम्झाएर केहीबेरमै पठाइदिन्छौं’ भन्ने जवाफ दिँदै अगाडि बढे ।
घटनापछि शव उठाउन उर्लाबारीको मंगलबारे, टाँडी, जाँते हुँदै केही परसम्म ट्याक्टरमा र करिब डेढ किलोमिटर हिँडेर प्रहरी घटनास्थल पुगेको थियो । बस्तीसम्म मोटरबाटो नजोडिएकाले अघिपछि प्रहरीको गस्तीले बिरलै मात्र बर्खे गाउँ टेकेको थियो । अपहरणमा संलग्नमध्ये मुख नछोपेका दुई जना श्रेष्ठको घरमा पटकपटक आएका थिए । तरकारी मागेर लैजान्थे । स्थानीयका अनुसार चन्दका कार्यकर्ता राजेन्द्र्रकुमारसहित बर्खेका हरेक घरमा तरकारी लिन बारम्बार आउँथे । थोरै दिँदा कराउँथे । राजेन्द्रसँग गत असारमा १० हजार रुपैयाँ चन्दा पनि मागेका थिए । उनले ५ हजार दिएका थिए तर उनीहरूले नलगेको स्थानीयको भनाइ छ । राजेन्द्रकुमार शिक्षण पेसासँगै सब्जी खेती र बाख्रापालन गर्थे । उनी गाउँभरिमा नै देशदुनियाँका कुरा बुझेका मानिन्थे । गाउँमा पूर्वाधार विकासका काममा उनी अघि सर्थे ।
गाउँमा सबैका सहयोगी रहेको छिमेकी भवानीप्रसाद बराल बताउँछन् । ‘यहाँको विकट ठाउँमा कोही भारी बोकेर हिँड्दै छ र उसलाई समस्या परेको देख्दा उनी आफैं भारी बोकेर पुर्याइदिन्थे,’ बरालले भने, ‘उनको हत्याले गाउँ नै टुहुरो भएको छ ।’ राज्य र चन्द पक्षको दोहोरो चपेटामा परेर राजेन्द्रकुमारको ज्यान गएको त्यस क्षेत्रका प्रदेश सांसद तथा नेकपा प्रदेश सदस्य कुलप्रसाद लिम्बूको बुझाइ छ । गाउँकै टाठाबाठा भएका कारण सुरक्षाकर्मी पुग्दा पनि उनकै घरमा जान्थे । त्यसरी सुरक्षाकर्मी गएको देख्दा चन्दका कार्यकर्ताको नजर उनीमाथि परेर ज्यान गएको उनको दाबी छ । बिहीबारसम्म प्रहरीले घटनामा संलग्न कसैको पनि पहिचान गर्न सकेको छैन ।
चन्द समूहको गतिविधि बढ्दै गएको तर सुरक्षाकर्मीको उपस्थिति पटक्कै नभएको र यातायातका कुनै साधन नपुग्ने यो स्थानमा जनप्रतिनिधि र स्थानीयवासीले त्यहाँ सशस्त्र प्रहरीको बेस क्याम्प राख्न गृहमन्त्रीलाई आग्रह पनि गरेको थियो । चन्द समूहको मेची कोसी ब्युरोले हत्याको दिन साँझ विज्ञप्ति जारी गर्दै आफ्नो संगठनका नाममा सुराकी गरेको भन्दै श्रेष्ठको हत्याको जिम्मेवारी लिएको थियो । ब्युरो इन्चार्ज प्रतापका नामबाट जारी विज्ञप्तिमा श्रेष्ठकै सुराकीमा २०७६ फागुन २६ गते बसेको ब्युरोको बैठकमा प्रहरीले हस्तक्षेप गरेको र उनकै सुराकीमा प्रहरीले गत कात्तिक १२ गते ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई प्रहरीले पक्राउ गरेको दाबी गरिएको छ ।
२०८१ पुष २०
ताजा नेपाल
२०८१ पुष २०
ताजा नेपाल
२०८१ पुष २०
ताजा नेपाल