Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेसँग मिलेर स्थानीय र प्रदेश चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग सहकार्य गरेर आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा जाने नीतिगत निर्णय भइसकेको बताएका छन्।

गोरखाको बाह्रकिलोमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले एमालेसहित अन्य कम्युनिस्ट पार्टीहरूसँग पनि सदन र सडकमा सहकार्य गर्ने सहमति भएको जानकारी दिए।

‘नेकपा एमाले, नेकपा मशालहरूसँग हामीले सहकार्य गरेर जाने सहमति भइसकेको छ। सडक र सदनमा मिलेर जाने कुरा भएको छ र आउँदो स्थानीय र प्रदेश चुनावमा मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ,’ उनले भने।

प्रचण्डले सहकार्यमा मात्र सीमित नभई सबै कम्युनिस्ट पार्टीलाई एउटै केन्द्रमा ल्याउने प्रयास भइरहेको पनि बताए। कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र समाजवादको दिशामा अघि बढ्न कम्युनिस्टहरू एकजुट हुनुपर्ने उनको भनाइ छ।

उनका अनुसार विभिन्न साना–ठूला कम्युनिस्ट दल तथा समूहसँग भइरहेको छलफल सकारात्मक दिशामा अघि बढेको छ।

‘उमा भुजेलको नेतृत्वमा विप्लवजीको बहुमत जिल्ला र नेताहरू संलग्न समूहसँग केही दिनअघि एकता गरिएको छ। अरूसँग पनि छलफल सकारात्मक छ, एमालेका नेताहरूसँग पनि। यद्यपि केपी ओलीजीलाई कुरा बुझाउन सजिलो त भइराखेको छैन, तर पनि हामी सहकार्य र एकता गरेर जानुपर्छ,’ प्रचण्डले भने।

उनले संविधानसभा र शान्ति सम्झौतामा सहभागी शक्तिहरूसँग पनि सहकार्यको प्रयास भइरहेको बताए। नेपाली कांग्रेस र मधेसकेन्द्रित दलका नेताहरूसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै उनले संविधान र संघीयताको रक्षाका लागि साझा मोर्चा बनाएर अघि बढ्नुपर्ने धारणा राखे।

‘गगन थापाजी, शेरबहादुर देउवाजी र मधेसकेन्द्रित दलका नेताहरूसँग लगातार छलफल भइरहेको छ। हामी मिलेरै जानुपर्छ, मोर्चा गरेर जानुपर्छ भन्नेमा विमति छैन,’ उनले भने।