Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीलाई अध्यक्ष बनाउन गरी सकियो विधान अधिवेशन

ललितपुर । एमाले भनेकै केपी ओली हो भन्दै एमालेको विधान अधिवेशन सकिएको छ । अधिवेशनले दसौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने भएको छ । तीनदिने विधान महाधिवेशन समापनका क्रममा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन हुने ठाउँ घोषणा गरेका हुन् । ठाउँ तोकिए पनि विधान महाधिवेशनपछि जारी विज्ञप्तिमा मिति खुलाइएको छैन । एमालेमा जनताको बहुदलीय जनवादलाई कार्यक्रम कि सिद्धान्त मान्ने भन्नेमा मतभेद रहँदै आएकामा विधान महाधिवेशनले यसलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्ने निर्णय गरेको छ । विधान महाधिवेशनले राष्ट्रिय महाधिवेशनबाट ओलीलाई नै पुनः अध्यक्ष चुन्ने लगभग निश्चित गरेको छ । ओलीलाई नेतृत्वमा दोहोरिन बाधा नपर्ने गरी विधानमा ७० वर्षे उमेर हदको थप व्याख्या गरिएको छ । परिमार्जित विधानअनुसार १५ पदाधिकारीसहितको केन्द्रीय नेतृत्व आगामी महाधिवेशनबाट छानिनेछ । राष्ट्रिय महाधिवेशनमा सकेसम्म सर्वसम्मत नेतृत्व (अध्यक्षसहितका केन्द्रीय पदाधिकारी) चयनको कोसिस हुने एमाले नेताहरूले बताएका छन् । विधान महाधिवेशनमा पार्टी अध्यक्ष ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदनका साथै उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि गरिएको समूहगत छलफल र त्यहाँबाट प्राप्त सुझावसमेत समेटेर एमालेले आगामी नीति, संगठनात्मक संरचना र लक्ष्य तय गरेको हो । सहभागी ६ हजार ३ सय ४७ नेता–कार्यकर्तालाई १० समूहमा विभाजन गरी तीनै वटा प्रतिवेदनमाथि सुझाव मागिएको थियो । ती सुझाव समेटेर परिमार्जनसहित प्रतिवेदन पारित गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । प्रस्ताव पारितपूर्व उठेका प्रश्नको प्रस्तुतकर्ता नेताले जवाफ दिएका थिए । विधान महाधिवेशनले पार्टी विभाजनको क्षति न्यूनीकरण गर्दै अबको चुनावमा बहुमतसहित पहिलो शक्तिको विरासत फर्काउने कार्यक्रम पारित गरेको छ । आगामी चुनावमार्फत पुनः सत्तामा फर्केर पार्टीले ल्याएको समृद्धिको नीति अगाडि बढाउने लक्ष्य तय गरेको छ । समृद्धिको यात्रामा अवरोध सिर्जना भएको र यात्रालाई निरन्तरता दिने सर्वोपरि महत्त्वको कार्यभार पार्टीका सामु रहेको भन्दै यसका लागि पार्टीलाई राज्य सञ्चालनको केन्द्र भागमा पुनःस्थापित गर्नु अनिवार्य पूर्वसर्त मानेको छ ।

एमालेले पार्टी विभाजनको थप क्षति रोक्ने गरी संगठनको संरचनामा फेरबदल गरेको छ । उपमहासचिव विष्णु पौडेलका अनुसार विधान महाधिवेशनबाट पारित विधानमा २ सय २५ सदस्यीय केन्द्रीय कमिटीमा १५ पदाधिकारी हुने व्यवस्था गरिएको छ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव, ७ सचिव हुनेछन् । सबै पदाधिकारी सम्मिलित १५ सदस्यीय केन्द्रीय सचिवालय रहनेछ । केन्द्रीय कमिटीका पदाधिकारीसहित स्थायी कमिटी ४५ सदस्यीय हुनेछ । प्रदेश कमिटीमा ५० लाई आधार बनाइनेछ । त्यसमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जनाका दरले थपिने उपमहासचिव पौडेलले जानकारी दिए । जिल्ला कमिटीमा पनि आधार संख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाका दरले थपिनेछन् । यो हिसाबले ४ वटा निर्वाचन क्षेत्र भएको जिल्लामा १ सय १० सदस्यीय कमिटी हुनेछ । पालिका कमिटी पनि ५० लाई आधार मानेर प्रत्येक वडाबाट ५ जनाका दरले थप्ने व्यवस्था गरिएको छ । सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने प्रावधान विधानमा छ ।

एमालेले ७० वर्षे उमेर हद लागू गर्ने निर्णय गर्दै त्यसको थप व्याख्या गरेको छ । कुनै पनि नेताले ७० वर्ष उमेर ननाघ्दै कार्यकारी पदमा निर्वाचित भएर बीचमै ७० वर्ष पूरा भए पनि कार्यकाल पूरा गर्न पाउनेछन् । आगामी मंसिरमा हुने भनिएको दसौं महाधिवेशनमा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए उनले कार्यकाल पूरा गर्न पाउनेछन् । उनी आगामी फागुनमा ७० पूरा गरेर ७१ वर्षमा लाग्नेछन् । एमालेको नवौं महाधिवेशनले ७० वर्षे उमेर हदको व्यवस्था गरिएको भए पनि त्यसमा व्याख्या थिएन । परिमार्जित विधानमा एक पटक केन्द्रीय सदस्य भएको कुनै पनि व्यक्ति केन्द्रीय अध्यक्षसहित कुनै पनि पदाधिकारीको उम्मेदवार बन्न पाउने बाटो खुला गरिएको छ । यसअघि दुई कार्यकाल केन्द्रीय सदस्य बनेको हुनुपर्ने व्यवस्था थियो ।