Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओली सरकारलाई बिदा गर्ने प्रचण्डको उद्घोष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको वैधानिकता सकिएको बताएका छन्। आफ्नो र वरिष्ठ नेता माधव नेपाल समूहबाट संसदीय दलको नेता चुनिएपछि प्रचण्डले वैधानिकता सकिएको केपी ओली सरकारलाई चाँडो भन्दा चाँडो बिदा गर्नुपर्ने बताए। ‘संसदीय दलको जिम्मेवारी दिइएको छ। म यसमा खुशी छु। ठूलो कार्यभार दिइएको छ। अब मेरो सम्पूर्ण ध्यान सरकार बनाउन र संसद पुनर्स्थापना गर्नमा हुन्छ। यसका लागि म डटेर लाग्छु,’ प्रचण्डले भने, ‘अहिलेको सरकार वैधानिक रहेन। संसद विघटन भएको छैन। अब यो सरकार चाँडो भन्दा चाँडो बिदा गर्नुपर्छ।’
अध्यक्ष प्रचण्डले अब नयाँ सरकार बनाउनतिर ध्यान दिनुपर्ने बताए। ‘त्यसका लागि के कस्तो साथ लिन सकिन्छ त्यो साथ खोज्छौं,’ उनले भने। नेपालको राजनीतिक घटनाक्रमलाई अन्तर्राष्ट्रिय समुदायले चासोका हेरिरहेको भन्दै उनले आफूहरुले अन्तर्राष्ट्रिय समुदायलाई बुझाएर अघि बढ्ने उल्लेख गरे।
‘हामी वैधानिक रुपमा क्रियाकलाप अगाडि बढाइरहेका छौं। प्रधानमन्त्री केपी ओली समूहका गतिविधि वैधानिक होइन। हामीले गरिरहेका काम वैधानिक छन्। यो कुरा सारा संसारलाई जानकारी गराएर अगाडि बढ्छौं। संसद पुनर्स्थापना हुन्छ। नयाँ सरकार पनि बन्छ,’ प्रचण्‍डले भने।