Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्ट सरकार नै किसान मारा !

काठमाडौं । उखु मिलले किसानको उखु पेलेर चिनी बेचिसके । सरकारले उखु किसानले पाउने अनुदान रकम समयमा दिँदैन । उखु क्रसरहरू बन्द गर्ने किसानलाई भुक्तानी नगर्ने यो कस्तो अराजकता हो । कृषि मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालयलाई लाज पनि भएन । मन्त्रीद्वयले चासो दिएका छैनन् । उखु किसान संघ छ त्यसले चिनी मिल मालिकहरूलाई कडी कडाउ गर्दैन । ऋण लिएर उखुको व्यवसायीक खेती गरिएको हुन्छ । उखु मिलले उधारो लान्छन । तर चिनी बेचेर आफ्नो सम्पत्ति जोड्छन् जो उत्पादक हो उसले भुक्तानी पाउँदैनन् । यो देशका नियम कानून के का लागि हो ? मिलले रु. २ अर्ब किसानलाई तिर्न छ ।

मन्त्रालयले किसानले पाउने ९२ करोड अनुदान पठाएको बताइन्छ । श्रीराम सुगर मिलले ४२ करोड रुपैयाँ तिरेको छैन । सरकारबाटै अनुदानको १ अर्ब ३१ करोड रुपैयाँ पठाएको छैन । अघिल्लो वर्षकै २ करोड अनुदान बाँकी भएको किसानहरू बताउँछन् । सरकार किसानप्रति गम्भिर देखिँदैन । किसानको सेवक भन्न रुचाउने नेकपाको सरकार हुँदा पनि न्याय नपाएका किसानले कहिले न्याय पाउने हो ? अहिले अन्नपूर्ण सुगर मिल बन्छ गरिँदैछ । देशका १२ हजार कृषक उखु खेतीमा आवद्ध छन् । राकेश अग्रवाल सो मिलका मालिक हुन । सर्लाही र रौतहटका किसान मर्कामा रहँदा प्रदेश दुईको सरकार वेपत्ता छ । चार वर्षदेखिको ४० करोड भुक्तानी गर्न मिलहरूको बाँकी छ । यो रकम ४ वर्षदेखि थपिदा उखु किसानकै महासंघले के हे¥यो ? कपिलमुनी मैनाली नेता मात्र हुन् किसान ठग्ने मिलको पक्षमा लाग्ने ? उनलाई यो जात्रा हेर्न उखु किसान संघको नेता बनाइएको हो !

सरकार फितलो हुँदा उखु मिलका मालिक जब्बर भएका छन् । दुई तिहाईको दम्भ पनि सरकारले गुमाएको छ । सत्ता पक्षकै वरिष्ठ नेता वामदेव गौतम किसान महासंघको नेता हुन् । उनकै नाउमा ठग्ने डिवि कार्की अख्तियारबाट डामिएर जेलमा छन् । यिनै कार्की तत्कालिन एमालेबाट उखु विभाग प्रमुख थिए । किसानको नेता हुने खेती किसान गर्नु नपर्ने वामदेव एमाले चित्र नारायण श्रेष्ठ माओवादी सरकारी भत्ता सेवा सुविधा लिने हकदार कसरी भए ? यिनले राजनीति किसानको नाममा गर्दा उखु किसानमाथि भएको ठगी व्यवसायिक खेती गरेका किसानमाथि विचौलियाले गरेको ठगीप्रति के काम गरेका छन् ?

अहिले उखु क्रसिङ्ग गर्ने समय हो । बैंकबाट ऋण लिएर ऋण नतिर्ने वासुलिङ्ग सुगर मिल कैलाली अहिले बन्द छ । श्रीराम सुगर मिल लुम्बिनी चिनी कारखाना, इन्दुशंकर सुगर मिल जस्ता ठूला कम्पनीले उखुको व्यवसाय गरेका किसानमाथि ठगी गर्दा सरकार रमिते किन भयो ? कहाँ छ कृषि मन्त्री घनश्याम भुषाल र उद्योग मन्त्री लेखराज भट्टको ध्यान ? के उखु उत्पादन गरेका किसानको श्रम र पूँजी मिल मालिकले खाँदा सरकार मृत्युतुल्य भएर देखिने हो ? यही हो कामरेड समावादसम्म पुग्ने तरिका ?