Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करोडौंका मेशिन किनेर थन्क्याउने ?

सुनसरी । अनियमितता र भ्रष्टाचारको थलो बनेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खरिद गरिएका महँगा मेडिकल उपकरणमध्ये १९ प्रकारका उपकरण हालसम्म उपयोग नगरी थन्क्याएर राखेको पाइएको छ । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनले ती उपकरण प्रयोग नहुँदा उपचार प्रभावित भएको र खरिद खर्च उपलब्धिविहीन भएको जनाएको छ । बीपीले फोटो थेरापी, सिटी स्क्यान, भेन्टिलेटर, रिसिन्ज पम्प, अप्टिकल कोहेरेन्स टोमोग्राफी (ओसीटी), क्यान्सर डाइग्नोसिस (क्यान्सर पहिचान) गर्ने इमुनोहिस्ट्रोकेमेस्ट्री मेसिन, अर्थोपेडिक (हाडजोर्नी) विभागमा एउटा अप्रेसन थिएटर (ओटी) टेबललगायत उपकरण ल्याएदेखि थन्क्याएर राखिएको छ । सिटी स्क्यान मेसिन भने मर्मत नगरी अर्को नयाँ खरिद गर्ने भनेर दुई महिनाअघि कवाडी बनाएर निकालिएको छ । प्रतिष्ठानमा भेन्टिलेटर र आईसीयू अभाव देखाएर बिरामी अन्यत्र पठाउने गरिएको छ ।

२५६ स्लाइसको सिटीस्क्यान ल्याउन प्रतिष्ठानले काठमाडौंको म्याक्स मेडिटेक कम्पनीलाई २०७७ भदौमा १६ करोड रुपैयाँको ५० प्रतिशत अग्रिम भुक्तानी दिएको थियो । तर, अहिलेसम्म मेसिन ल्याउने सुरसार म्याक्सले गरेको छैन । जबकि ठेक्का पाएको १२० दिनभित्र उपकरण जडान, परीक्षण र सञ्चालन र प्रतिष्ठानका प्राविधिकलाई चलाउन सिकाउनुपर्ने प्रतिष्ठानसँग गरेको खरिद सम्झौतामा उल्लेख छ । तोकिएको समयमा मेसिन आपूर्ति गर्न नसक्ने त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कुल बजेटको शून्य दशमलव शून्य पाँच (०.०५) प्रतिशत रकम हर्जाना तिराउनुपर्नेमा उपकुलपति ज्ञानेन्द्र गिरीले उल्टै पटक–पटक गरी आगामी मंसिरसम्मको समय थपिदिएका छन् ।

आफ्नै सिटी स्क्यान मेसिन नहुँदा प्रतिष्ठानले दिनहुँ करिब सवा लाख रुपैयाँ घाटा व्यहोरिरहेको रेडियोलोजी विभागका एक प्रावधिकले बताए । महालेखा परीक्षकको प्रतिवेदनले प्रतिष्ठानले आर्थिक वर्ष २०७६/७७ मा स्वीकृत बजेटभन्दा ८ करोड ७७ लाख ३६ हजार बढी खर्च गरेको जनाएको छ । प्रतिष्ठान नियमावली २०५५ मा सिनेट र कार्यकारिणी समितिको अधीनमा रही स्वीकृत गरेको खर्च गर्नुपर्ने व्यवस्था हुँदाहुँदै पनि कर्मचारीको तलब, ज्याला तथा सुविधा, मर्मत सम्भार, स्वास्थ्य सामग्री, फर्निचर, पुस्तक, भवन निर्माण र अन्य प्रशासनिक कार्यमा ८ करोड ७७ लाख ३६ हजार बढी खर्च गरेको उल्लेख गर्दै बजेटको सीमाभित्र रही खर्च गर्न सुझाव दिएको छ ।

कार्यकारिणी समितिले स्वीकृत गरे पनि सिनेटमा अनुमोदन नै नगरी प्रतिष्ठानमा ७६ करोड रुपैयाँको लागत अनुमानको मातृ तथा शिशु उपचार केन्द्र (एमसीएच) भवन २ अर्ब १८ करोड रुपैयाँ (भ्याटबाहेक) , १ करोड ८७ लाख रुपैयाँको फार्मेसी भवनको लागत बढाए १२ करोड ४० लाख रुपैयाँमा निर्माण ठेक्का दिएकोप्रति विभिन्न कार्यदलले पनि यसअघि नै औंल्याएका थिए ।